मनको आदेश मान्ने कि मस्तिष्कको निर्णय ?

केपी शर्मा ओली

प्रिय छोराछोरी,
आज म तिमीहरूसँग जटिल लाग्ने तर जीवनमा बारम्बार आउने एउटा विषयमा संवाद गर्न चाहन्छु— मनले गरेको आदेश मान्ने कि मस्तिष्कको निर्णय ? हाम्रो दैनिक जीवनमा यस्तो द्विविधा प्रायः आइरहन्छ, जहाँ हाम्रो भावना, चाहना र आवेग एकातिर हुन्छ भने हाम्रो तर्क, विश्लेषण र विवेक अर्कोतिर । यी दुईबीचको अन्तरसम्बन्धलाई सही रूपमा बुझ्न सक्नु भनेको जीवनको सही मार्गनिर्देशन फेला पार्नु हो ।

तिमीहरूले ‘मनले खा’को मान्छे’ सुनेका छौ होला । ‘मन परेको मान्छे’ भनेको पनि धेरै पटक सुन्यौ होला । यसो विचार गर त, हामी प्रायः मनलाई खास महत्त्व दिन ‘मन’ पराउँछौं । तर, मन भनेको के हो त ? मेरो विचारमा, मन मस्तिष्ककै एउटा हिस्सा हो । तर मनको कुनै स्वतन्त्र अस्तित्व छैन । मन भनेको त्यो भावना हो, जुन प्राकृतिक रूपमा उत्पन्न हुन्छ, कुनै सोच–विचार र तर्कबिना । जब कुनै कुरा थाहा पाउँछौं र त्यसमा तुरुन्त प्रतिक्रिया दिन्छौं, हामी भन्छौं— ‘मनले यसो भन्यो’ ।

तर, मस्तिष्क यसभन्दा फरक छ । मस्तिष्कले सामाजिक मान्यता, नैतिकता र परिणामको आधारमा निर्णय गर्छ । मनको स्वाभाविक प्रतिक्रिया तुरुन्तै आउन सक्छ । तर मस्तिष्कले त्यसमाथि सोच–विचार गरेर, परिणामहरूको विश्लेषण गरेर मात्रै निर्णय दिन्छ । मनले भनेजस्तो गर्दा कुनै पनि क्षण आनन्द मिल्न सक्छ । तर मस्तिष्कले भने ‘के यो आनन्द दीर्घकालीन छ ? के यसले तिमीलाई लाभ गर्छ ?’ भनेर हिसाबकिताब गर्छ । यसरी मनको आदेश कुनै तर्कबिनाका हुन्छन् भने मस्तिष्कको आदेश सोच–समझका साथ हुन्छ ।

त्यसैले म सधैं भन्छु— मनले काम गर भनिहाले पनि मस्तिष्कलाई एक पटक सोध । मनले भन्छ— ‘यो गर’ । तर मस्तिष्कलाई सोध्न भुल्यौ भने तिमीले गल्ती गर्न सक्छौ । मनले एकोहोरो आदेश दिँदा, मस्तिष्कसँग संवाद गर । मनले यसो गर भनिरहँदा मस्तिष्क भने सोच्न थाल्छ— ‘गरौं कि नगरौं ?’ मस्तिष्कले मन्थन गर्छ, आफैंसँग छलफल गर्छ, वादविवाद गर्छ । त्यसपछि, जे आदेश दिन्छ, त्यो आदेशको पालना गर । किनभने मस्तिष्कको आदेश सधैं तर्कसंगत हुन्छ ।

मन मौलिक हुन्छ । यो तिम्रो सबैभन्दा प्राकृतिक र स्वाभाविक रूप हो । यो स्वतन्त्र हुन्छ, स्वच्छन्द हुन्छ । मनले बन्धन मान्दैन । तर तिमीले सुनेका छौ नि— जब कसैले कुनै अप्रशोधित विचारलाई व्यक्त गर्दा, अरू भन्छन्— ‘मनलाग्दी नबोल ।’ अर्थात्, मनमा जे आयो, त्यही नबोल । यसको अर्थ हो मनमा मनलाग्दी कुरा आउन सक्छ । किनकि मन अप्रशोधित, कच्चा छ । मनलाग्दी नगर भनेको अप्रशोधित विचारबाट निर्देशित भएर काम नगर भनेको हो । मस्तिष्कले मात्र विचारलाई प्रशोधित बनाउँछ, सोच–विचार गरेर सही निर्णय दिन्छ । उदाहरणका लागि, तिमीलाई कसैप्रति रिस उठ्यो भने, मनले तुरुन्तै प्रतिक्रिया दिन आदेश दिन्छ र भन्छ— ‘कराऊ, रिसाऊ, झगडा गर’ । तर मस्तिष्क सोच्छ— ‘के मैले दिने यो प्रतिक्रियाले समस्याको समाधान गर्छ त ?’ मस्तिष्कले यो पनि सोच्छ— ‘के तिमीले यस निर्णयमा पछि पछुताउनु पर्दैन ?’

यसरी तिमीले रिसाउनुभन्दा अघि मस्तिष्कलाई सोध्यौ भने, त्यसरी गरेको काममा गल्ती हुँदैन । मस्तिष्कको स्वीकृतिमा गरिएको निर्णय सधैं विवेकपूर्ण हुन्छ । कुनै पछुतो हुँदैन । मस्तिष्क तर्क गर्छ— ‘यो सामाजिक रूपमा उपयुक्त छ कि छैन ?’ यो मानवीय दृष्टिकोणमा सही छ कि छैन ? अनि मात्र मस्तिष्कले आदेश दिन्छ । जब मनले आदेश दिन्छ, त्यो स्वाभाविक हुन्छ, कच्चा हुन्छ, क्षणिक हुन्छ । मिठाईको उदाहरण लिऔं । मिठाई देख्दा तिमीलाई तुरुन्तै मनले भन्छ— ‘यो मिठाई खाऊ ।’ जिब्रो रसाउन थाल्छ, शरीरले त्यो मिठाई पचाउन र्‍याल पनि निकालिसक्छ । मनको आदेश छ— खाऊ !

तर, मस्तिष्क भने त्यसलाई फरक तरिकाले हेर्छ । मस्तिष्कले मिठाई देख्नासाथ विश्लेषण गर्छ— ‘के म अहिले यो मिठाई खान सक्छु ? यसले मेरो शरीरमा के असर पार्न सक्छ ? मस्तिष्क सोध्छ— मेरो सुगर के हुन्छ ? कोलस्ट्रोल बढ्ने त होइन ? तिमीले पहिले नै धेरै मिठाई खाइसकेका छौ भने मस्तिष्क झन् गहिराइमा पुग्छ । मस्तिष्क भन्छ— ‘मेरो शरीरले अब थप चिनी पचाउन सक्दैन । यो मिठाईले मेरो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसलाई रोक्नुपर्छ । किनकि यदि मैले यसलाई अहिले रोकिनँ भने दीर्घकालीन रूपमा यसले स्वास्थ्यमा समस्या ल्याउन सक्छ ।’ त्यति मात्र होइन, मस्तिष्कलाई सोध्नेबित्तिकै प्रश्नले नयाँ आयाम पाउँछ । मस्तिष्क सोध्छ— ‘यो वस्तुको मूल्य कति छ ? के मेरो साथमा मिठाई किन्न पैसा छ ?’ मस्तिष्क विचार प्रशोधनको कारखाना हो । मनले ‘उधारो पाइन्छ’ भन्न सक्छ, मस्तिष्कले ‘तिर्ने उपाय छैन’ भन्न सक्छ ।

प्रिय छोराछोरी, यही नै मन र मस्तिष्कको फरक हो । मन तुरुन्तै आनन्दको खोजीमा हुन्छ, मस्तिष्क भने दीर्घकालीन परिणामलाई हेरेर निर्णय गर्छ । मनले स्वच्छन्दता खोज्छ, तर मस्तिष्कले स्थायित्व खोज्छ । मस्तिष्क सदैव दीर्घकालीन हुन्छ र मन क्षणिक । यही हो मन र मस्तिष्कको द्वन्द्व, ‘टग अफ वार’ । जब मनले तिमीलाई केही गर्न आदेश दिन्छ, एकछिन रोकिएर मस्तिष्कसँग परामर्श गर । मस्तिष्कसँगको परामर्शपछि मात्र निर्णय लेऊ । अनि यहीँबाट सही निर्णयको मार्ग प्रस्फुटित हुन्छ ।

तिमीलाई थाहा छ, मनको स्वभाव नै उक्साउने खालको हुन्छ । यसले तुरुन्तै केही गर्न उक्साउँछ । एउटा क्रूर उदाहरण लिऔं— कोही व्यक्तिले आफ्नो आवेग नियन्त्रण गर्न नसकेर कसैको हत्या गरिदिन्छ । यो काम मनको तात्कालिक आवेगले गरायो, जसको परिणाम उसले आजीवन जेल बस्नुपर्‍यो । यदि त्यही व्यक्तिले हत्या गर्नुअघि मस्तिष्कलाई सोधेको भए के हुन्थ्यो ? मस्तिष्कले तुरुन्तै सोच्न लगाउँथ्यो— ‘मैले हत्या गर्दा मेरो परिवारको हालत के हुन्छ ? मेरो आफ्नै हालत के हुन्छ ? के यो रिसले मलाई फाइदा गर्छ त ?’ यति प्रश्न गर्नासाथ उसको हात राकिने थिए । कसैको ज्यान बच्ने थियो । तसर्थ हामीले मनले भन्यो भन्दैमा गरिहाल्न हुँदैन । त्यस स्थितिमा मन परिपक्व भएको हुँदैन । मन सामाजिक भएको हुँदैन, मानवीय भएको हुँदैन, विधि, प्रबन्धसम्मत भएको हुँदैन । त्यसैकारण त्यसलाई विचार नभनेर भावना भनिएको हो । विचार भन्नेबित्तिकै त्यहाँ प्रशोधनको कुरा आउँछ । विचार बन्नका लागि मन्थन आवश्यक हुन्छ । आत्ममन्थन र आत्मबहसको कुरा आउँछ । अरूसँगको बहसका अगाडि आत्ममन्थन जरुरी हुन्छ । मन्थन किन चाहियो ? सामाजिकताका लागि । मन्थन किन चाहियो ? औचित्यपूर्ण हुनका लागि । औचित्य जैविक प्रवृत्तिले छुट्याउन सक्दैन, सामाजिक प्रवृत्तिले मात्र छुट्याउँछ । त्यसैले मनलाग्दी गर्नु हुँदैन, विचार पुर्‍याएर मात्र काम गर्नुपर्छ भनिएको हो ।

प्रिय छोराछोरी, जीवनमा तिमीले सधैं यो द्वन्द्वसँग जुध्नुपर्छ— मनलाई सुन्ने तर मस्तिष्कको निर्णयलाई मान्ने । यसले तिमीलाई दीर्घकालीन रूपमा सन्तुलित, सफल र सन्तुष्ट बनाउँछ ।

हामी सामाजिक प्राणी हौं । जैविक वा प्राकृतिक प्राणी पनि हौं । तर हामी प्राकृतिक र जैविक हिसाबले मात्र चल्न सक्दैनौं । त्यसैकारण त मानव समाज अरूभन्दा भिन्न छ । हामीले हरदिन पटक–पटक मस्तिष्कलाई सोध्नुपर्छ— म यतिखेर जे काम गरिरहेको छु, के मैले यतिबेला गर्नुपर्ने काम यही हो ? के मैले यतिबेला आफ्नो समयलाई अधिकतम सदुपयोग गरिरहेको छु ? के मैले अरूलाई नोक्सान नपार्ने गरी, अरूको अधिकार नखोस्ने गरी मानवोचित ढंगले काम गरिरहेको छु ? मैले यतिबेला गरिरहेको कामले कसैको अधिकार कुण्ठित भइरहेको छ कि ? अरूको अधिकार वा सम्पत्ति हरण गर्ने काम भइरहेको छ कि ? यति प्रश्न गरेपछि र दिमागले सकारात्मक जवाफ दिइसकेपछि बल्ल हामीले त्यस कामलाई निरन्तरता दिनुपर्छ ।

होइन, यदि दिमागले ठीक काम गरिरहेको छैन, यो काम उचित भइरहेको छैन, सामाजिक र न्यायोचित भइरहेको छैन, समयको सही सदुपयोग भइरहेको छैन भन्छ भने त्यसलाई आत्मस्वीकारोक्तिका साथ पुनर्विचार गर्नुपर्छ । त्यसकारण मैले मनले भन्नेबित्तिकै नगर्नू, गर्न थालिहालियो भने पनि मस्तिष्कलाई सोध्नू भनेको हो । मस्तिष्कले छलफल, विमर्श गरेर सकारात्मक जवाफ दियो भने त्यसअनुसार अगाडि बढ्नू । दिएन भने आत्मालोचित हुँदै त्यसलाई त्यहीँ रोकेर पछि हट्नू । यसो हेर्दा यसको प्रक्रिया लामो लाग्न सक्छ । धेरै प्रश्न गर्नुपर्ने हुन सक्छ । तर खासमा यो झन्झटिलो प्रक्रिया होइन, छैन ।

प्रिय छोराछोरी, हामीलाई सधैं सताउने अर्को प्रश्न हो– जीवनमा के गर्नुहुन्छ, के गर्नु हुँदैन ? यसको उत्तर खोज्न एकैछिन बगैंचामा पुगौं । कुनै बगैंचामा एउटा गुलाफको थुँगा फुलिरहेको हुन्छ, मुस्कुराइरहेको छ । हामीलाई त्यसलाई सुमसुम्याउने मन हुन सक्छ । टिप्ने इच्छा जागृत हुन सक्छ । सुमसुम्याउँदा सुमसुम्याउँदै थुँगा भाँचिएला, कुच्चिएला, टुट्ला । याद गरौं त, फूल एक्लै नहुन सक्छ, त्यससँगै फूल रोप्ने, पानी र मलखाद हाल्ने माली पनि हुन सक्छ । कसैले धर्तीको सुन्दरताका लागि मात्र फुलाएको हुन सक्छ । फूल फुलाएर ‘भ्यालेन्टाइन्स डे’ मा महँगो मूल्यमा बेच्ने उद्देश्य जोडिएको हुन सक्छ । अथवा एकादशीका दिन पशुपतिनाथलाई चढाउने उद्देश्य पनि हुन सक्छ । त्यसमा कसैको भावना र आस्था जोडिएको हुन सक्छ । त्यो फूल परदेशबाट भाइ वा श्रीमान् आउँछन् भनेर माला उनेर लगाइदिने उद्देश्य हुन सक्छ । आफ्नो प्रियजनलाई सुन्दर ‘बुके’ बनाएर उपहार दिन्छु भन्ने सपना वा परिकल्पना सँगालेको पनि हुन सक्छ ।

एउटा गुलाफको फूलसँग थुप्रै कुरा जोडिएका छन् । त्यसकारण त्यो फूल एक्लै छैन । त्यो कर्तव्यविहीन भएर फुलेको छैन । त्यो फूल निरर्थक फुलिरहेको छैन । मूल्यहीन ढंगले फुलिरहेको छैन । उसको नित्य मुस्कुराहटमा निरन्तरको एउटा प्रतीक्षा छ । एउटा पूजाको प्रतीक्षा, एउटा मालाको प्रतीक्षा, एउटा समर्पणको प्रतीक्षा । अथवा प्रियजनको सम्मानका लागि कोठा सुन्दर ढंगले सजाउने योजनाको प्रतीक्षा । त्यसमा गम्भीर अर्थ लुकेको छ । तसर्थ तिमीलाई र मलाई मन लाग्दैमा गुलाफ टिप्न मिल्छ र ! टिप्न मिल्दैन । यति बेला मनलाई हामीले भन्नैपर्छ— ‘ए मन, तिमीले मलाई फूल टिप्न त अह्रायौ । तर तिमी प्राकृतिक छौ । तिमी नग्न छौ, वस्त्रहीन छौ । तिमी विवेकशून्य छौ । त्यसकारण मैले विवेकी, खारिएको, माझिएको मस्तिष्कलाई एक पटक सोध्नुपर्छ । म उसलाई सोधेर मात्र काम गर्छु ।’ उसलाई सोध्नेबित्तिकै मस्तिष्कले भनिहाल्छ— ‘हो, तिमी सामाजिक प्राणी हौ । सामाजिक प्रबन्धअनुसार तिमीलाई यसो गर्न मिल्दैन ।’ मस्तिष्कले भन्नेछ— ‘सबैले यसै गर्दै जाने हो भने समाज के हुन्छ ? जसको चुलो वा भान्सामा पुग्यो, त्यहाँ जे पाकेको छ, त्यो पस्केर खुरुखुरु खायो भने मानव समाज कहाँ पुग्छ ?’

अर्को एउटा उदाहरण हेरौं न, कोही पनि मानिस अर्को देशको संविधान, कानुन पढेर त्यहाँ गएको हुँदैन । बेलायत, अमेरिका, जापान वा भारतको संविधान पढेर ती देशमा को जान्छ र ! मैले अमेरिकाको संविधान कण्ठ गरेँ, अब त्यहाँ गएर कानुन पालना गर्छु कसले भन्छ र ! हामीले भिसा ‘अप्लाई’ गर्दा त्यहाँको कानुन पालना गर्छु भन्नुको अर्थ हो, त्यहाँको सामाजिक प्रबन्धको, मर्यादाको उल्लंघन गर्दिनँ । कसैको भिसा आवेदन स्वीकार गर्नु भनेको पनि सम्बन्धित व्यक्तिबाट हाम्रो देशको प्रचलित कानुन, संविधान, थिति, चालचलन र मर्यादाको बिगार गरिदिँदैन भन्ने विश्वास हो । उसलाई त्यहाँको नियम–कानुन थाहा नहुन सक्छ ।

तर मानव मस्तिष्कले गर्न हुने र नहुने भनी छुट्याएको कुरा आम रूपमा उपयोग हुन्छ । तर तत् देशमा बिहान मस्तिष्कलाई दराजमा थन्क्याई मन मात्र लिएर चल्ने हो भने बेलुकी डेरामा फर्कनै मुस्किल हुन्छ । मनमौजी वा जैविक हिसाबले चल्न त्यहाँका सामाजिक प्रबन्धहरूले अनुमति दिँदैनन् । यस्ता नैतिक, सामाजिक मर्यादा विश्वका कुनै पनि संविधान, नियम, कानुनभन्दा माथि हुन्छन् । थिति, प्रवन्ध, कानुन र संविधान मनले होइन, मस्तिष्कले बनाउँछ । त्यसैकारण विभिन्न देशका कानुन नपढीकन गए पनि त्यहाँको संविधानको परिपालना गर्न सकिन्छ । त्यसका लागि मनबाट होइन, मस्तिष्कबाट चल्न सिक्नुपर्छ ।

प्रिय छोराछोरी, मन र मस्तिष्कको संवाद जीवनभर समाप्त हुँदैन । जीवनको प्रत्येक मोडमा, तिमीले यो द्वन्द्वसँग जुध्नुपर्छ । मनले चाहन्छ— स्वतन्त्रता, उत्साह, तात्कालिक आनन्द । मस्तिष्क भने सोच्छ— दीर्घकालीन परिणाम, सामाजिक उत्तरदायित्व, तर्कसंगत निर्णय । यी दुईबीचको सन्तुलन नै जीवनको सार हो ।

जीवनमा के गर्नुहुन्छ, के गर्नुहुन्न भन्ने प्रश्नको उत्तर पनि सजिलो छैन । तर तिमीले सधैं मस्तिष्कबाट ‘नो अब्जेक्सन लेटर’ लिएर मात्रै अघि बढ्नुपर्छ । किनकि मस्तिष्कले नै मनको कच्चा आवेगलाई प्रशोधित गर्छ, सही निर्णय बनाउँछ र दीर्घकालीन खुसीको मार्ग प्रस्फुटित गर्छ ।

तिमीलाई थाहा छ, मस्तिष्कले निर्णय गर्दा सधैं गहिराइमा पुगेर तर्क गर्छ । हामी सामाजिक प्राणी हौं र मस्तिष्कले हामीलाई सामाजिक मान्यता, कर्तव्य, र न्यायको आधारमा निर्णय गर्न सिकाउँछ । त्यसैले, जब मनले केही निर्णय गर्न आदेश दिन्छ, एकचोटि मस्तिष्कसँग परामर्श गर । किनभने, मन त मात्र आवेग हो, तर मस्तिष्कले तिमीलाई तर्क र विवेकको प्रकाशमा सही दिशा देखाउँछ ।

अन्त्यमा, म तिमीहरूलाई यही भन्न चाहन्छु— जीवनमा कहिल्यै मनको आवेगलाई पूर्ण रूपमा नदबाऊ । तर त्यसलाई सधैं मस्तिष्कको सही निर्देशनमा अघि बढाउन सिक । जीवनका हरेक मोडमा मनलाई सुन्ने तर मस्तिष्कले निर्देशित निर्णय गर्ने अभ्यास गर । मनले अप्ठ्यारो होइन, सजिलो बाटो हिँडाउन खोज्छ । सुख प्राप्तिको बाटो होइन, क्षणिक खुसीको बाटो हिँडाउन खोज्छ । मनले दुःख गरेर पढ भन्दैन । बरु आराम गर भन्छ । इमानदार भएर खेल भन्दैन, आनन्द र सुविधाको सीमासम्म खेल भन्छ ।

एउटा सजिलो उदाहरण लिऔं, अहिले पनि सबै ठाउँमा पुल बनिसेकका छैनन् । उहिले त झन् पुल बनेकै थिएनन्, खोला तर्नैपर्थ्यो । पारि पुग्न डुंगा त चढ्नैपर्छ । तर डुंगा चढ्दा बाहना भएन भने निश्चित छ, डुंगा पारि पुग्दैन । पारि पुर्‍याउन त बाहनाले खियाउनैपर्छ । डुंगा त सजिलो बाटो हिँड्छ, पानी जता बग्छ उतै । खियाएर पारि पुर्‍याउने त बाहना हो । जता सजिलो, उतै बग्ने प्रवृत्ति छोडेर निर्धारित गन्तव्यमा पुर्‍याउने बाहना हो । मस्तिष्क भनेको बाहना हो । जब तिमीले मन र मस्तिष्कको यो भेद छुट्याउन सक्छौ र यसको सन्तुलनलाई सम्हाल्न सिक्छौ, तब तिमीलाई जीवनमा सही दिशा, सफलता र खुसी प्राप्त हुनेछ ।

प्रिय छोराछोरी, तिमीहरूलाई सन्तुलित मन र मस्तिष्कको यात्राका लागि शुभकामना !

  • कान्तिपुर पत्रिकाको २०८१ कार्तिक १ गतेको पत्रिकावाट साभार गरिएको आलेख :
प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.