बिकास श्रेष्ठ
कुनै समय थियो, गाउ भरी मान्छे थिए तर पर्याप्त सुबिधा थिएन । पानीको निकै कष्ट थियो। पाईपवाला धाराको पानी बिग्रिदा ८,१० गाउ पारि सतिश्वारा गांउ पानी बनाउन जानुपर्थ्यो, बन्ने नबन्ने निष्चित हुन्थेन । कुवाको पानी भर्न सबेरै बिहान घन्टौ घन्टाको बाटो हिडी डोकोमा गाग्री हाली पानी बोकिन्थ्यो । अहिले घरको २ पाईलामै धारा छन्, तर गाग्री छैन ।
१ घन्टा टाढा तारुका गाउमा सरकारी स्कुल थियो, त्या पढिन्थ्यो। त्यो बेला जाबो १ घन्टा, कुदेर पुगिन्थ्यो । खुब रमाईलो थियो स्कुल । सिसु कक्षा देखी १० कक्षा सम्म को ११ बर्ष कसरी बित्यो पत्तै पाईएन । ५ पिरियड पढेर खेल्दै खेल्दै घर आईन्थ्यो । घरमा खाजा मकै, भटमास, रोटी र महि खाईन्थ्यो । अहिले गाउमा पढ्ने बिध्यार्थी नभएर स्कुलनै खारेज भएछ ।
टुकि, ढिप्री र बेट्रीको लाईट बालेर पढिन्थ्यो, गाउमा बिजुली थिएन ।
बुढापाका हरुको गफ सुनिन्थ्यो, काहानी जस्तो लाग्थ्यो। खुब माया गर्नुहुन्थ्यो पढ्नु पर्छ बाबु भन्नु हुन्थ्यो । अहिले घरघरमा बिजुली बत्तिको पोलहरु छन् तर बत्ति बाल्ने मान्छे छैनन्, काहानी सुन्न केटाकेटी र सुनाउन बुढापाका छैनन्।
बस चल्ने गतिलो रोड थिएन, गाडी गुर्दुपाखाको डाडामा बस्थ्यो, हरन बजाउना साथ सासै नफेरी कुदेर पुगिन्थ्यो। कहिलेकाही किराना सामान बोक्ने ट्याटर आउथियो सामान झारेपछि सानोपोखरी धुमेर आईन्थ्यो । अहिले बस, बाईक घर सम्मै पुग्छन् तर चढ्ने मान्छे छैनन् ।
पुरै गाउमा १,२ जानाको घरमा भन्दा टिभी थिएन, एन्टिना चार तिर नचाउदै भएपनि आधा गाउ संगै बसेर नेपाल टेलिभिजन टिभी हेरीन्थ्यो ।पछि घरमा टिभी आएसी चार गाउबाट चक्कावाला सिडी र क्यासेट साट्दै भए पनि नेपाली फिल्महरु हेरीन्थ्यो, पुरै गाउमा एफएममा दिनभर गित र समाचार बज्थे कति आनन्द लाग्थ्यो । अहिले प्रतेक बिजुलीको पोलमा केवल र नेटको तार बेरीएका छन् तर घर सम्म जोडौ भन्ने मान्छे छैन ।
सिजन अनुसारको केदो रोप्ने र मकै छर्ने गरिन्थ्यो । जोत्न खुब रहर लाग्ने, सकिनसकी हलो को आनो समाउने गर्थे । धान पराल बोक्न सोतिपसल झर्नु पर्थ्यो, लाग्थ्यो यो मंसिर महिना पनि किन आउदो हो कुन्नी जस्तो लाग्थ्यो । छिमेकी गाउ तिर धान कुट्ने मिलको आवाज सुन्ना साथ धानको बोरा बोकेर कुदिन्थ्यो । रातीको ११,१२ बजे सम्म जातोमा कोदो र मकै पिसिन्थ्यो । गाउले पुरै मिली १०-१५ दिन लगाएर पुरै बर्षको लागि पुग्ने गरी जंगलमा दाउरा काटिन्थ्यो । अहिले बारी पुरै बाझा अनि जंगल भए छिर्नै नसकिने भए ।
गुलेली लिदै भैसी र बाख्रा चराउन जंगल पुरै चहारीन्थ्यो । अमला, काफल, तिदु, ऐसेलु र कटुसको कुनै बोट छोडिन्नथ्यो । चप्पल र पाईप काटि मोटर बनाईन्थ्यो । जाबो गुच्चा, गट्टा, ढ्याक, घुच्ची, चुड॰गी, मोजाको बल र धनुष त कति खेलीन्थ्यो खेलिन्थ्यो। अहिले जंगल त छाडौ घारीले गर्दा गाउ नै पस्न पनि सकस छ । बोटभरि फलेका बेलौती, अमिलो, नासपती, सुन्ताला अहिले भुई भरी छन् टिप्ने कोही छैन ।
नामै त भन्ज्याड॰ सानोतिनो ब्यापारिक केन्द्र जस्तै थियो । बिभिन्न गाउका मान्छेहरु हाम्रै गाउको बाटो हिड्थे, सामानहरु किनमेल गर्थे । रमाईला हासीमजाक अनि ठट्टा गर्थे। किराना र सानो तिनो कपडाका पसलहरु थियो, अनि सानो क्लिनिक पनि। अहिले गाउ खाली देखेर मान्छे हरु हिड्नै छोडे छन् ।
गाउमा वा छिमेकी गाउमा बिहे बर्तबन्ध भोज वा केही दुखद घटना घट्यो भने सबै गाउलाई नै निम्तो हुन्थ्यो । सबै मिली समारोह निप्ट्याईन्थ्यो । पुस माघ तिर फुर्सदको सिजनमा छिमेकी गाउ तिर नाच हेर्न गईन्थ्यो, खुब राम्रो मेलमिलाप थियो ।
गाउंमा दशै, तिहारको रौनक नै छुट्टै थियो । सानोपोखरीमा पिड॰ हालिन्थ्यो । तछाड र मछाड गर्दै खेलिन्थ्यो । गाउ पुरै ईनामेल रंगले बास आउथ्यो । घरको भित्ता हरु गेरु, रातो माटो र कमेरो ले चिरीच्याट्ट हुन्थे । मिलेर मासु काटिन्थ्यो, सकिनसकि बोकेर ल्याई भारमा सुकाईन्थ्यो ।दशैमा आमाले किन्दिनुभएको कपडा लगाएर मख्ख पर्दै गाउ गाउ डुलिन्थ्यो । तिहारको लागी भनेर साचेर राखेको पैसाले पटका र बन्दुक किनिन्थ्यो । देउसी खेल्दा उठेको पैसाले बनभोज खाईन्थ्यो । अहिले घरका भित्ताहरु पटपट फुटेका छन । पिड॰ हाल्ने, देउसी खेल्ने र घर लिप्ने कोही छैनन् ।