दमौली ।
तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँमा रहेको रुम्सी होमस्टे प्रवर्द्धनमा रत्नहरि मेमोरियल अस्पतालले सक्रियता देखाएको छ । रत्नहरि मेमोरियल अस्पतालले होमस्टे सञ्चालकहरूको हितका लागि विभिन्न सुविधा उपलब्ध गराएको छ । अस्पतालका व्यवस्थापक लिला बहादुर थापाका अनुसार, होमस्टे सञ्चालकहरूले परिचय पत्र देखाएमा अस्पतालका सेवामा १० प्रतिशत र औषधिजन्य वस्तुमा ५ प्रतिशत छुट पाउनेछन् । साथै, वर्षमा एक पटक रुम्सी गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ ।

शुक्रबार थापाको नेतृत्वमा अस्पतालको टोलीले उक्त होमस्टे पुगेको थियो । होमस्टे सञ्चालक र जनप्रतिनिधी बीच गरिएको छलफलमा होमस्टेको प्रवर्द्धनका लागि अस्पताले उक्त योजना अघि सारेको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरिएको थियो । गण्डकी प्रदेश सरकारले ६५ लाख र व्यास नगरपालिकाले ३५ लाख रुपैयाँ लगानी साझेदारी गरेका छन् । परियोजनाअन्तर्गत ११० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको छ । रुम्सी गाउँ आफ्नो प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, र ग्रामीण जीवनशैलीका लागि परिचित छ । यहाँका होमस्टेले पाहुनालाई अग्र्यानिक खाना, लोकल कुखुराको परिकार, र परम्परागत मगरहरुको आतिथ्य प्रदान गर्छन्। होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष राना मगरका अनुसार, यहाँका पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण, र स्थानीय परिकारबाट निकै प्रभावित हुन्छन्।

दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै गएको छ । रुम्सी गाउँको प्रवर्द्धनमा रत्नहरि अस्पतालको सक्रियताले स्थानीय बासिन्दा र पर्यटकहरूको लागि थप सकारात्मक प्रभाव पारेको छ । स्वास्थ्य सेवामा सहुलियतले स्थानीयको विश्वास जितेको छ भने स्वास्थ्य शिविरले गाउँमा स्वास्थ्य सुविधाको पहुँच बढाउने अपेक्षा गरिएको छ ।
