उत्पन्न प्रज्ञा स्वयं

अविचल आस्था मणि

म्याग्दे, तनहुँ, गण्डकी, नेपाल ।

खोज्दै यो मणि हुन्छ विश्व भरमा, चम्कन्छ आफैं मणि

रोज्दै यो मणि हुन्छ पत्थर कला आनन्दको रोशनी

आएको अवतार बन्न कवि हो, अध्यात्मको मोहनी

सादा शैशव कालमा अनुभवी सत्कारको जीवनी

हेर्दा दर्पणमा मनोहर सफा, उत्पन्न प्रज्ञा स्वयं

ताजा अब्बल मानवीय ममता बन्दै नभन्ने द्वयं

उत्साही मनकामना हृदयमा स्वच्छन्द यायावर

हाँस्दै चल्दछ मन्द मन्द महिमा बोकेर मामाघर

मैना कार्तिकको बिहान पखमा हावा चल्यो सिर्सिर

उत्कण्ठामय प्रार्थना सरलमा ज्योत्स्ना खुला मिर्मिर

लोकेच्छा शुभ साधना समयकाे कुद्छन् चढी यानमा

रच्छन् रोचक कीर्तिमान कविता छन् ज्ञान, विज्ञानमा

सेवा सुस्मित चाहना ‘ अचम ‘ को आरामको चाङ हो

म्याग्देका मणि रत्न हुन् गजबका, जन्मे थलो छाङ यो

आए सूर्य उडाउँदै गगनमा सत्कार गर्छन् कवि

तेजस्वी शुभ भावना हृदयमा बेग्लै उघार्छन् छवि

निष्ठा, नैतिकता विशिष्ट गहना, श्रृङ्गारका चेत छन्

घोल्छन् सुन्दरता रचेर रचना, निर्वेदमा वेद छन्

आकांक्षामय जिन्दगी छ कविको, लक्ष्मी, भवानी सदा

टीका थाप्न निमन्त्रणा छ कविमा, हो स्वच्छ, ताजा कथा

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.