पत्रकार महासंघ तनहुँको १४औं साधारणसभा असार १८ गते गरिने

७ जना क्रियाशिल पत्रकार छनौट, पुरस्कार प्रदान गरिने ।
नेपाल पत्रकार महासंघ तनहुँको १४औं साधरणसभा यही असार १८ गते मंगलबार गर्ने भएको छ । महासंघको मंगलबार सञ्चारग्राममा बसेको बैठकले असार १८ गते साधारणसभा गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले जानकारी दिनुभयो ।
पत्रकार महासंघ केन्द्रबाट निर्वाचनको तालिका आइसकेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको तालिका समेत आइसकेको छ । निर्वाचन होला नहोला भन्न सकिने अवस्था छैन । तर, शाखाको साधारणसभा भने सम्पन्न गर्ने निर्णय गरेका छौं । जिल्लाको जिम्मेवारी पुरा गर्ने तयारीमा छौं ।”
बैठकले महासंघ मातहतका विभिन्न शीर्षकका पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशील पत्रकारलाई पुरस्कृत गर्न छनौट गरिएको छ । मुक्तीनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेललाई पुरस्कृत गरिने भएको सचिव प्रताप रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुरस्कारको राशी रु.११ हजार रहेको छ ।
भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्ले, सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेना, सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार कृष्ण न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय भएको सचिव रानाले बताउनुभयो ।
त्यस्तै उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजीवलाल श्रेष्ठ र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट सम्झना रसाइलीलाई पुरस्कृति गरिनेछ । सुरज गुरुङ स्मृति पुरस्कार रु.पाँच हजार र अन्य सबै पुरस्कारको रकम रु. १० हजार रहेको महासंघले जनाएको छ ।
महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुस्कृत गर्न स्थापित विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । यही असार १८ गते नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १४औं साधारणसभाको अवसरमा छनोट भएका पत्रकारलाई पुरस्कृत गरिने कोषाध्यक्ष विमला कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत तोकिएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष पौडेलले जिल्लाका क्रियाशील पत्रकारलाई विभिन्न दिग्ज व्यक्तित्वबाट स्थापित पुरस्कारले पत्रकारलाई प्रोत्साहन गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सचिव एवं व्यासश्री साप्ताहिकका प्रधान सम्पादक डा.बसन्त कंडेललाई स्थानीय सरकारको भाषा नीतिको क्षेत्रमा विद्यावारिधि हासिल गरेको महासंघले बधाई दिने समेत निर्णय गरेको छ ।
त्यस्तै बैठकले नेपाल पत्रकार महासंघका साधारण सदस्य स्वर्गीय मनोरथ शर्माको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलीसहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.