गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले व्यास क्षेत्र दमौलीको मात्रै नभई भारतवर्षकै महत्वपूर्ण क्षेत्र भएको बताएका छन । व्यास क्षेत्र शिवपाञ्चायन बिकास कोषको तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशनलाई मंगलवार सम्बोधन गर्दै आलेले सो भनाई व्यक्त गरेका हुन् । वेदव्यास दमौलीको मात्रै नभई ॐकार परिवारकै महत्वपूर्ण ईतिहास भएको उनले बताए । वेदव्यासलाई संकुचित भावनाले हेर्न नहुने बताउदै उनले व्यासप्रतिको सम्मान संगै प्रचारप्रसारमा समेत ध्यान दिनुपर्ने दाबी गरे । वेदव्यासलाई जति महत्व दिनुपर्ने हो त्यस अनुसार महत्व दिन नसक्नु दुखद भएको आलेको भनाई छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहले महत्व दिएन भन्ने तर नागरिकको दायित्व पनि विर्सिन नहुने बताउदै उनले नागरिक स्तरबाट समेत व्यास जन्मस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताए । वेदव्यासको मूर्ति निर्माणको कामको सुरुवात हुनु महत्वपूर्ण विषय भएको मन्त्री आलेको भनाई थियो । वेदव्यासको योगदान र इतिहासलाई सबैले सम्झनुपर्ने र संरक्षण गर्नुपर्ने बताउदै उनले व्यास क्षेत्रको प्रवर्द्धनमा गण्डकी प्रदेश सरकार प्रतिवद्द रहेको समेत बताए ।

गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठले गुरुयोजना अनुसार व्यासको मूर्ति सहितको संरचना निर्माणको लागि ६४ करोड लाग्ने बताए । व्यास क्षेत्रको मूर्ति निर्माण पछि दमौलीको पर्यटकीय चहलपहल समेत बढ्ने उनको भनाई छ । व्यासको मूर्ति बनाउनको लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यास क्षेत्रको विकासमा सरोकारवालाहरूको चासो नपुगेको बताए । व्यासको मूर्ति निर्माणको महत्वकांक्षी योजना भएको कारण पनि नगरवासीले यसलाई विशेष सहयोग गर्नुपर्ने उनको दाबी थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले व्यासको मूर्ति निर्माणपछि यस क्षेत्रको धार्मिक पर्यटकीय प्रवद्र्धनमा टेवा पुग्ने दाबी गरे । दमौलीका स्थानीयले यहाँको पर्यटन प्रवद्र्धन गर्ने भन्ने विषयमा धेरै महत्व नदिएको र यसको लागि जागरण आवश्यक रहेको बताए । कोषका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देव कुमार श्रेष्ठ, नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य ईश्वर बहादुर विष्ट, नेकपा माओवादी केन्द्र तनहुँका कार्यालय सचिव वसन्त दरै, राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समिति सभापति चुडामणि दाहाल, कोषका प्रमुख संरक्षक व्यास अध्येता काशीनाथ न्यौपाने, कोषका संरक्षण्क शान्ति स्वरुपानन्द दामोदरबाबा, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष वृषराज श्रेष्ठ, व्यास क्षेत्र शिवपाञ्चायन मन्दिर संरक्षण समितिका पूर्व अध्यक्ष देवनिधि पन्त, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्र, वेदानुयायी प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकान्त काफ्ले, व्यास ३ की कार्यबहाक वडाध्यक्ष बिनु श्रेष्ठ लगायतले कार्यक्रममा भनाई राखेका थिए ।

अध्यक्षको प्रतिवेदन कोषका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश भट्टराई राखेको कार्यक्रममा सचिवको प्रतिवेदन महासचिव विष्णुभक्त सिग्देलले प्रस्तुत गरे भने उपाध्यक्ष एकबहादुर रानाले स्वागत गरेको कार्यक्रममा कोषकी कोषाध्यक्ष सरला श्रेष्ठले संस्थाको आयव्यय प्रस्तुत गरेकी थिईन् । कोषका आमान्त्रित सदस्य सुर्यचन्द्र हड्खलेले धन्यवाद मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव विष्णुभक्त सिग्देलले गरेका थिए ।









