कुल खेती योग्य जग्गा ५६०६१ हेक्टर क्षेत्रफल, १७ प्रतिशत जग्गामा मात्र धान उत्पादन
जलवायु मैत्री कृषि, धान उत्पादन वृद्धि भन्ने नाराका साथ मनाईएको २१ औ राष्ट्रिय धान दिवसको अवसरमा तनहुँका ४ जना कृषक सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र तनहुँ र म्याग्दे गाँउपालिकाको आयोजनामा भएको राष्ट्रिय धान दिवस कार्यक्रममा जिल्ला स्तरिय उत्कृष्ठ कृषकलाई नगद सहित सम्मान गरिएको हो ।

सम्मानित हुने कृषकहरुमा शुक्लागण्डकी नगरपालिका वडा नं १० निवासी युनिक मल्ती एग्रो प्रा.लि.का संचालक हरि वहादुर खड्का, व्यास–११ स्थित गण्डकी नेपाल ईन्भेष्टमेन्टका संचालक भगवती घर्ति, वन्दिपुर १ स्थित ढकाल नर्सरी फर्मका संचालक दामोदर ढकाल र भानु ९ मा कडरिया एकिकृत कृषि फर्म संचालन गरेका वासुराज कडरियालाई नगद १० हजार र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख शान्तिरमण वाग्लेले कृषकले आफुलाई हेयको रुपमा हेर्ने दृष्टिकोण र कृषकलाई सानो दर्जाको नागरिकको रुपमा सोचिनु गलत भएको वताए । जसको उत्पादनले मानव जीवनको महत्वपुर्ण दैनिकी चलेको छ उनीहरुलाई जनप्रतिनिधी लगायत सम्पुर्णले सम्मान गर्नुपर्ने वताए ।
त्यसैगरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले देश कृषि प्रधान देश भएता पनि आत्मनिर्भर हुन नसक्नु दुखद भएको वताए । व्यवसायिक कृषिमा भन्दा निर्वाहमुखी खेती प्रणालीले कृषिमा नेपाल आत्मनिर्भर वन्न सकेन, यसका लागी सम्पुर्ण पक्ष गम्भिर वन्नुपर्ने गौतमको धारणा रहेको थियो ।

तनहुँमा वर्षो धान ७६४४ हेक्टरमा लगाईएको र त्यसवाट २९२३८ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए । यसैगरि चैते धान १८०५ हेक्टर क्षेत्रफलमा ८४८४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । कुल खेती योग्य जग्गा ५६०६१ ह्ेक्टर क्षेत्रफल भएता पनि १७ प्रतिशत जग्गामा मात्र धान उत्पादन हुने लामिछानेले वताए ।

म्याग्दे गाँउपालिका वडा नं ३ को कोईरालाथोकमा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, कार्यपालिका सदस्य वद्रिका घिमिरे, वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन पालिकाका कृषि शाखाका प्रमुख रुक्मिता घिमिरेले गरेको थियो ।




