लमजुङ / काठमाडौं, कार्तिक १५
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लास्थित घरमा शुक्रबार राति ढुङगा प्रहार भएको छ। प्रेस चौतारी नेपालले उक्त घटनाप्रति घोर निन्दा गरेको छ।
विज्ञप्तिअनुसार, शुक्रबार राति करिब १२ बजे अध्यक्ष पाण्डेको बेसीशहर–६ स्थित घरमा अज्ञात समूहले ढुङगा प्रहार गरेको हो। ढुङगा प्रहारबाट घरका सिसा फुटेका छन् भने घटनापछि अध्यक्ष पाण्डे र उनका परिवार आत्तिएको जनाइएको छ। घटनास्थलमा अध्यक्ष पाण्डेकी आमा र वृद्ध परिवार सदस्य पनि रहेका थिए।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि यस्तो आपराधिक आक्रमण अस्वीकार्य रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ,
“अध्यक्ष पाण्डे र संगठनका नेतृत्वलाई डर देखाएर कलमजीवीहरूलाई दबाउने प्रयास असफल हुनेछ। प्रेस चौतारी नेपालले यो घटनाको छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी कठघरामा उभ्याउन माग गर्दछ।”
चौतारीले यस घटनाबाट स्वतन्त्र पत्रकारिता र मिडियाकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठेको बताउँदै सरकार र सम्बन्धित निकायलाई तत्काल प्रभावकारी छानबिन गर्न आग्रह गरेको छ।
प्रेस चौतारी नेपालद्वारा जारी गरिएको विज्ञप्ति।








