गोरखा, पालुङटार नगरपालिका–७ च्याङ्लीस्थित च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजनामा विद्यार्थीहरूका लागि करियर काउन्सेलिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रम वर्डप्रेस पोखराको प्राविधिक संयोजन र ब्रडवे इन्फोसिस नेपाल तथा इन्फोसिस संस्थाको सहकार्यमा जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डा. रविन्द्र कडेलले गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
उक्त कार्यक्रममा नेपालकै अग्रणी आइटी तालिम प्रदायक संस्था ब्रडवे इन्फोसिस नेपालका संस्थापक उत्तम अधिकारी, वेब एक्सपर्ट नेपालका संस्थापक यमबहादुर क्षेत्री, कोड पिक्सेल मिडियाका संस्थापक उत्सव सिंह राठौर, डब्लुपी क्रिएटिभका हेड अफ इन्जिनियरिङ एन्ड बिजनेस अपरेसन मिलन खनाल, तथा मेन्डोली टेकका संस्थापक मनोज ज्ञवालीलगायतका वक्ताहरूले विद्यार्थीहरूलाई आइटी क्षेत्रमा उपलब्ध अवसर, सम्भावना, र भविष्यका दिशाबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो।त्यस अवसरमा बोल्दै ब्रडवे इन्फोसिस नेपालका संस्थापक उत्तम अधिकारीले संस्थामार्फत सञ्चालित विभिन्न तालिम र कार्यक्रमहरूबारे जानकारी दिँदै, आगामी दिनहरूमा यस क्षेत्रका विद्यार्थीहरूलाई आवश्यक सहयोग र अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, लुमिनो टेक्नोलोजी प्रालिका सञ्चालक विजय कुमालले आफ्नो जीवनमा गरेको संघर्ष, आइटी क्षेत्रमा प्रवेश र सफलता प्राप्तिको प्रेरणादायी अनुभव प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम कोइरालाले पनि विद्यार्थीहरूका लागि उत्साहवर्धक र प्रेरणादायी विचारहरू व्यक्त गर्नुभएको थियो।
पालुङटार नगरपालिका–७ भित्रका विभिन्न विद्यालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत करिब १२० जना विद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई आइटी क्षेत्रमा प्रोत्साहन गर्दै भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डा. रविन्द्र कडेलले जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा डा. कडेलले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने सहयोग पुर्याउने व्यक्तित्वहरूलाई सामुदायिक सिकाई केन्द्रको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।





















