बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर नेपाली सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष भट्टराई, महासंघका अध्यक्ष अधिकारी र जनचाहना न्युज डट कमका सम्पादक नेपालीलाई पत्रकारितामार्फत उद्यमशीलता र स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चौथो वार्षिक साधारणसभाको अवसरमा आज केवलकारको बटम स्टेसनमा आयोजित कार्यक्रममा पत्रकारलाई सम्मान प्रदान गरेको हो ।
उनीहरूलाई जनही नगद रु. ५१ हजार, प्रमाणपत्र तथा दोसल्ला ओढाएर प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, प्रदेशसभा सदस्य हरिबहादुर चुमान र कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले संयुक्त रूपमा सम्मान गरेका थिए ।
कम्पनीले उद्यमशील विषयमा कलम चलाउँदै पर्यटन प्रवद्र्धनमा योगदान दिने पत्रकारहरूलाई प्रत्येक वर्ष साधारणसभाको अवसरमा सम्मान गर्दै आएको छ ।
कम्पनीका सन्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा गठन गरिएको पुरस्कार छनोट समितिले तय गरेको मापदण्ड अनुसार पत्रकारहरूको मूल्याङ्कन गरी सिफारिस गरेको सूचीलाई सञ्चालक समितिले अनुमोदन गरेपछि साधारणसभाको अवसरमा पत्रकारलाई सम्मान गरिएको छनोट समितिका संयोजक उपाध्यायले जानकारी दिए ।

यसअघि पनि पत्रकार कृष्ण न्यौपाने, मदन वाग्ले, सुनिता आचार्य, दुर्गाप्रसाद शर्मा र सबिना कार्कीले सो पुरस्कार प्राप्त गरिसकेका छन् ।
कार्यक्रममा कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले हाल निर्माणाधीन ‘बन्दीपुर हिल गुरुयोजना’ अन्तर्गत करिब १५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । गुरुयोजना आगामी दुई वर्षभित्र रु. ६ अर्ब २९ करोडको लागतमा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए ।