गठबन्धनलाई जिताई छाड्ने आँबुखैरेनीका तरुणको प्रतिवद्धता

कार्तिक २२ मंगलबार

तनहुँ ः आँबुखैरेनी गाउँपालिकाका तरुणले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल तरुण दलमा आवद्ध उनीहरुले मंगलबार नेपाली कांग्रेसले गरेको आधिकारिक निर्णय नै आफूहरुको निर्णय हुने भएकोले गठबन्धनलाई जिताएरै छाड्ने बताएका हुन् ।
आँबुखैरेनी गाउँपालिकास्थित तरुण दलको आयोजनामा भएको निर्वाचन विशेष कार्यक्रमलाई सम्बोधन गर्दै आँबुखैरेनी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा कांग्रेस नेता गिरबहादुर थापाले मुलुकलाई स्थायित्व र दिगो विकासतर्फ लैजाने उद्धेश्यका साथ गरिएको गठबन्धनलाई सबै मतदाताले साथ दिनुपर्ने बताए । मुलुकलाई समस्या र संकटको समयमा जहिल्यै निकास दिने पार्टी नै नेपाली कांग्रेस भएकोले पार्टीको विचारलाई घरदैलोमा लैजाने दायित्व पनि तरुणको भएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल तरुण दल तनहुँका कार्यबाहक अध्यक्ष हिरा थापाले तरुण दल पार्टीको एक अभिन्न हिस्सा भएकोले पार्टीको हरेक निर्णयलाई सफल गराउने दायित्व तरुण दलका युवाको भएको बताए । गठबन्धन राष्ट्रिय आवश्यकता भएकोले विना संकोच गठबन्धनको पक्षमा उभिन उनले सबैलाई आग्रह गरे ।
‘पार्टीको हरेक निर्णयलाई आम मतदातामाझ लैजाने र विजयी गराउने दायित्व तरुण कै काँधमा छ,’ कार्यवाहक अध्यक्ष थापाले भने, ‘त्यसैले अब पार्टीले लिएको अभियानमा तरुण जुट्न आवश्यक छ ।’
निर्वाचनमा योग्य उम्मेदवारलाई विजयी गराउने दायित्व पनि सचेत तरुणकै भएकोले गठबन्धनको पक्षमा घरदैलोमा सरिक हुन समेत थापाले तरुणलाई आग्रह गरे । गठबन्धनलाई कमजोर पार्ने काम गरिए एमालेको निरंकुशता मुलुकमा हावी हुने र मुलुक पछि पर्नेतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । जिल्लाका १० वटै पालिकाका सयौं युवा संगठित गरी निर्वाचनमा गठबन्धनको पक्षमा जनलहर सृजना गर्ने कार्यमा आफू जुटी रहेको का.व अध्यक्ष थापाले जानकारी दिए । उनले कुनै पनि संगठनमा कुशल व्यवस्थापन र आर्थिक पारदर्शीता अपरिहार्य रहेको पटक पटक दोहो¥याए ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष विजय गुरुङले आफूहरु सयौं तरुण संगठित भई घरदैलो अभियानमा जुटी सकेकोले गठबन्धनलाई कसैले हराउन नसक्ने बताए । कार्यक्रममा तरुण दल व्यास नगर सदस्य सुवोध वाग्ले, तरुण दल बन्दिपुरका अध्यक्ष शिशिर थापा, तरुण दल आँबुखैरेनीका सचिव जयबहादुर गुरुङ लगायतले गठबन्धनका उम्मेदवारलाई जिताउन आफूहरु सकृय रहने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका करिव ८० तरुण सहभागी थिए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.