दोर्दी गाउँपालिका, लमजुङ
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छि शाखाको आयोजनामा वडा नं. १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा .१२६ किसान लाभान्वित भएका छन् ।

सो शिविरमा २ हजार १३ पशुपन्छिको उपचार तथा औषधी वितरण भएको छ । ५० वटा कुकुरमा रेविज विरुद्धको खोप, आन्तरिक तथा बाह्य परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि ३४० गाईभैँसी, भेँडाबाख्रा ८५० वटालाई वितरण गरिएको पशुपन्छि शाखा प्रमुख शंकर पन्थीले बताउनुभयो । त्यस्तै, कुखुरा ७७३ वटालाई औषधी वितरण गरेको छ । भिटामिन तथा सिजन अनुसार लाग्ने रोगहरु नियन्त्रणको लागि औषधी वितरण भएको बताइएको छ । सो शाखा प्रमुख पन्थीले भन्नुभयो, हामीले तीन वटा ठाउँमा यस्ता कार्यक्रमका लागि साढे एक लाख रुपैयाँ बजेट अनुमान गरिएपनि यही मात्रै करिब एक लाख रुपैयाँ बराबरको औषधी वितरण भएको छ । केही दिन अघि पालिकाको वडा नं. ९ हिलेटक्सारमा यस्तै शिविर आयोजना गरेको थियो ।

अब आगामी १८ गते वडा नंं ८ बन्सारमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने पालिकाको पशुपन्छि शाखाले जनाएको छ । पशु स्वास्थ्य रेविज रोग नियन्त्रण र पशुपन्छिको स्वास्थ्य भई उत्पादन बढाउने उदेश्यका साथ यस शिविर सञ्चालन गरिएको सो शाखा प्रमुख पन्थीको भनाई छ । सो शिविरमा किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायका बारेमा समेत परामर्स पनि प्रदान गरिएको थियो । सो शिविरमा पशुपन्छि शाखा प्रमुख पन्थीको नेतृत्वमा ४ जना कर्मचारीहरु खटिएका थिए । यस शिविरको उद्घाटन गर्नुहुँदै वडा नं. १ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले वडाभित्रका किसानहरुलाई पशुपन्छिमा लाग्ने रोग, उपचार लगायतका बारेमा जानकारी हुनुका साथै उपचार पाएपछि उनीहरु लाभान्वित भएको बताउनुभयो । वडामै निशुल्क सो शिविर आएपछि किसानहरु हर्षित भएका थिए । शिविरमा विकेश तिवारी, प्रविण रेग्मी, विनोद प्रसाद कट्टेल, गजेन्द्र सापकोटा उपचारमा संलग्न रहेका थिए ।







