सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा ३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजीत हाजिर जबाफ प्रतियोगितामा कर्मचारीको टिम प्रथम भएको छ । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भएको कार्यक्रममा पत्रकारको टिम द्वितीय र शिक्षकको टिम तृतीय भएको हो । कर्मचारीको टिमले ३०, पत्रकार टिमले २८ र शिक्षकको टिमले २३ अंक प्राप्त गरेका थिए । प्रथम टिमले नगद १० हजार , दितीय टिमले ७ हजार ५ सय र तृतीय टिमले प्रमाणपत्र प्राप्त गरे । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार हस्तान्तरण गरे । हाजिरजवाफमा तीन टिमको सहभागीता रहेको थियो ।

यसैबिच तनहुँमा अपांगता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवस तनहुँमा भव्यताका साथ मनाईएको हो । सामाजिक विकास कार्यालय तनहुँ र व्यास नगरपालिकाको आयोजना तथा रिसेड तनहुँ, तनहुँ नेत्रहीन संघ, अपाङ्गता महिला सशक्तीकरण समाज, सह्दयी मञ्च नेपाल, तनहुँ बहिरा संघ, कोशिश तनहुँ, नेपाल नेत्रहिन संघ पुनस्थापना कार्यक्रमको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । सहभागीहरूले विभिन्न सचेतनामूलक प्लेकार्ड सहित दमौली बजारको परिक्रमा गरेका थिए । दमौली बजारको परिक्रमा गरि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर अन्तरक्रिया तथा विभिन्न कार्यक्रम गरिएको थियो । सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख ईन्दिरा दरै, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँड लगायतले अपांगता भएका व्यक्तिको हक अधिकार कार्यान्वयनमा जोड दिएका थिए रिसेड तनहुँका पूर्व अध्यक्ष एवं अपांगता अधिकारकर्मी मदन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा रिसेड तनहुँका अध्यक्ष पदम परियारले अपांगता भएका व्यक्तिहरूको सार्वजनिक सेवामा पहुँच विषयक प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।








