स्याङ्गदी । चितवनको इच्छाकामना गाउँपालिका ७ स्थित स्याङ्गदी गाउँमा एकहप्ते लघु उद्यम विकास तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत शनिबारदेखि तालिम सुरु भएको हो ।
चण्डिथान आधारभुत विद्यालयको भवनमा सुरु भएको तालिम पालिका स्तरीय लघु उद्यम विकास समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा समुद्घाटन गरि सुरु भएको छ ।

कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पालिकाले स्थानीय महिलाहरुलाई लघु उद्यमी बनाउने उद्देश्यका साथ तालिम संचालन गरेको बताए । ‘तालिम पश्चात महिलाहरुले के उद्यम गर्न चाहन्छ सोहि विषयमा तालिम दिई महिलाहरुलाई लघुउद्यम खोल्न सहयोग गर्नेछौं’ –उनले भने ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष माया सिलवालले तालिम सहभागी महिलाहरुलाई तालिम लिएपछि उद्यमी बन्न शुभकामना दिए । उनले महिलाहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सके स्थानीयको जीवनस्तर परिवर्तनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए ।

‘हामीले अहिले आम्दानीको लागि जे काम गरिरहेका छौं, त्यसैलाई विकसित गरेर व्यावसायिक बनाउन सके लघु उद्यमी बन्न सकिन्छ र थप आम्दानी गर्न सक्छौ, यसमा ध्यान दिन म दिदिबहिनीहरुलाई आग्रह गर्दछु’ –उनले भने ‘त्यसका लागि गाउँपालिकाले के गर्नुपर्छ भन्नुस् आवश्यक सहयोग गर्न गाउँपालिका हरदम तयार छ ।’

करिब ८० जना महिलाहरु सहभागी तालिम ७ दिनसम्म सञ्चालन हुनेछ भने तालिम समुद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत वडासदस्य फुलमति वि.क., चण्डिभञ्ज्याङ्ग सामाजिक महिला उद्यमी सहकारीका अध्यक्ष रश्मी गुरुङ, लघुउद्यम विकास समिति सदस्य कमला भट्टराई, महालक्ष्मी लाईफ इन्सुरेन्सका चितवन शाखा प्रमुख राजु थापा, एजेन्सी म्यानेजर निर्मला पिया लगायतको सहभागीता रहेको थियो ।








