जो प्रस्तावित प्रेरणा

शार्दूलविक्रीडित छन्द

१. नाता आत्मिक चाहना मृदुलमा सौजन्को पालन सेवा सुस्मित कामना सरलमा होस् मूर्त प्रक्षालन गाढा उत्तम शिष्ट सौम्य ममता आनन्द झङ्कार होस् मैत्री मानवता उजागर हुने निर्दोष संस्कार होस् ।

२. जो प्रस्तावित प्रेरणा हजुरको पाएँ बडो निर्मल पोल्थ्यो हप्हप मानमा मलम झैं बढ्दै गयो शीतल आत्माको गहिराइमा विनयका झुल्का खुला देखिए चोखो भाव निमन्त्रणा हरफमा आनन्दमा लेखिए ।

३. आहा ! उत्तम चाख याे हजुरको सत्कारमा पाइयो आए भाव खुला निमन्तृत सफा संसार रङ्गाइयो सच्चा सुन्दरता सरावर भए कार्पण्य बाधा हटे उच्चा सोख विशिष्टता हृदयमा उल्लेख्य मात्रा डटे ।

४. सोचे मानव हुन् सबै भुवनका साख्खै सदा काइदा आत्मा बन्छ विभोर पूर्ण सजिलो यात्रा गरी फाइदा डाक्ने रोचक चाल होस् सविनयी सत्कारमा, प्यारमा आओस् मौलिक मान्यता अचमको सैाजन्य उद्गारमा ।

५. गङ्गास्नान गरेर प्रात पलमा जप्दै बसेको हरि हावा सर्र चल्यो बडो गजबको बास्ना मिल्यो बाबरी होला सङ्गम मित्रता अचमको गाढा र ताजा सफा आत्माको अभिव्यन्जना सरालमा लेखेर ल्याएँ कथा ।

६. मान्छे एक म बुझ्नुहुन्छ कसरी सामान्य हो आखिर आएको छु यहाँ सफा हरफमा होस् काव्यको खातिर पैसठ्ठी बुझ वर्षको हुन गएँ जान्दै नजानी शठ बुझ्दा हुन्छ अझै नुहुन्छ सजिलै त्यागेर सारा हठ ।

७. इच्छा राख्छु मिलापको म गहिरो उत्पन्न प्रज्ञा घन वर्षा पर्छ झरी विवेक मसला भर्दै गएँ पावन मर्जी हुन्छ कसो उसै किसिमले चल्ने छ याे चाहना देखेकाे कविले छ याे समयमा सत्प्रेम सम्भावना ।

८. इच्छा चिन्न भयो सबै हजुरको पाना खुला पाइयोस् खोजेको महिमा उपासक बनूँ सौन्दर्य ठम्याइयोस् लेख्ने काव्य सदा नयाँ किसिमका मूर्धन्य आभामय राखेँ चाख खुला पवित्र मनमा उम्दा बनोस् वाङ्मय ।

९. आएको शुभवार मङ्गल छ याे घुम्दै गएँ जङ्गल हट्ने बैर भयो सबै किसिमको बाधा हटी दङ्गल आत्मानन्द खुला बनोस् हजुरको होस् चाखमा निर्मल आएँ उत्तम योगमा मिलनको हावा चलेको पल।

१०. आए अक्षर जो सरासर बसे आफैं मिली लाममा स्वेच्छामा कविता विलक्षण बने डुब्दै गएँ काममा आज्ञा हुन्छ जसो म गर्छु उसरी सत्कर्म सम्पादन आओस् रोचक धारणा सरलता आरामको कानन ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.