नीदमा आउँछ्यौ कि ?

मन्दाक्रान्ता छन्द

१. मीठा मीठा नव प्रणयका वैंशका गान गर्दै हाँस्दै नाच्दै नव नित कला वैंशका छाल भर्दै खोल्दै हाँस्दै अझ अधर ती मख्ख भै छाउँछ्यौ कि स्वप्ना बन्दै अब पनि सखे ! नीदमैं आउँछ्यौ कि ?

२. साँची भित्री रहर मनमा दिव्य बास्ना सजाई घुम्टो हाली पुलकित बनी मन्द मन्दै लजाई ज्योत्स्ना बन्दै किरण सुकिलो मार्ग रङ्ग्याउँछ्यौ कि स्वप्ना बन्दै अझ पनि सखे ! नीद मैं आउँछ्यौ कि ?

३. मेरो बोली अलिकति कडा बोल्न जान्दिन राम्रो कैल्यै राम्रोेसित मिलनको भेट भा’छैन हाम्रो सारा बुझ्छ्यौ अझ मिलनको प्यासले धाउँछ्यौ कि स्वप्ना बन्दै अझ पनि सखे ! नीद मैं आउँछ्यौ कि ?

४. जाडो गर्मी अति विकटमा प्रीत ढाक्दैन आङ भोको नाङ्गो तन मन भए प्रीत बन्ने छ स्वाङ बुझ्दा बुझ्दै पनि प्रणय कै गीत गुन्जाउँछ्यौ कि स्वप्ना बन्दै अझ पनि सखे ! नीद मैं आउँछ्यौ कि ?

(आस्थाका हरफहरू २०६० बाट)

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.