लमजुङ, १३ बैशाखः यहाँ बेरोजगार युवायुवती लक्षित व्यूटी पार्लर र कम्प्युटर तालिम सम्पन्न भएको छ । बेरोजगार युवायुवतीलाई सिप र स्वरोजगार बनाउने लक्ष्यका साथ पर्यटन तथा उद्योग कार्यलय लमजुङको आयोजनामा तिन महिनाको आधारभूत व्यूटी पार्लर र आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको हो । कार्यालयले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत सो सिप प्रदान गरेको हो ।
कार्यक्रमको समापन गर्नुहुँदै बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङले यस्ता तालिमले स्वरोजगार बन्न मदत पुग्ने र सिकेको सिप सुदपयोग गर्दै व्यवहारमा उतार्नुपर्नेमा उहाँले जोड दिनुभयो । युवाहरुले कुनैपनि अवसर गुमाउन नहुने र यसका लागि सिप सिकेर दक्ष बन्नुपर्ने उहाँको भनाई छ । पालिकाले पनि युवायुवती लक्षित धेरै सिप सिकाएर दक्ष र स्वरोजगार बनाउने काम गर्दै आएको नगर उपप्रमुख गुरुङले बताउनुभयो । सरकारले धेरै युवायुवतीका लागि लगानी गरेको र यसको फाइदा लिएर सिप सिकेर आयआर्जन गर्दे भविष्य बनाउन उहाँले आग्रह गर्नुभयो । प्रमुख अकलबहादुर सिजापतिले स्वरोजगारको सृजना गर्ने उदेश्यले वर्षेनी कार्यालयले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको र यस्ता तालिमले युवायुवतीलाई उद्यमी बनाउन टेवा पुग्ने बताउनुभयो । उहाँले कम्प्युटर तालिममा २० जना र व्यसिक ब्युटि पार्लर तालिममा १५ जना महिला गरी ३५ जना युवायुवतीलाई तालिम प्रदान गरिएको बताउनुभयो ।

ब्युटि पार्लर तालिमका प्रशिक्षक रिता घले र कम्प्युटर तालिमका प्रशिक्षक सन्जोग लामिछाने लगायतले मन्तव्य राखेका थिए । पर्यटन कार्यालयका प्राविधि सुमन सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशिक्षार्थि शर्मिला रिमाल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिममा सहभागीहरुले तालिम लिएर सिप लिन पाएको भन्दै खुसी ब्यक्त गरेका छन् ।