अविचल आस्था मणि
चन्द्रमणी अधिकारी
आहा सुन्दरता विराज मनमा देदीप्य छौ किन्नरी
हौ उच्चारित प्रेरणा प्रथम जो सान्निध्यमा सुन्दरी
आफैं के कसरी छ उद्घाटित कथा विस्तार मैंले भनें
देवीको करुणा मिल्यो सतहमा ऐले म यस्तो बनें
दुर्गा सप्तसती जपेर मनले चण्डी भवानी पद
आँखाबाट बहेर अश्रु जलले पग्ली पखालें मद
पाएँ आसिक मातृका चरणमा झुक्दै थिएँ बेहद
झन् आध्यात्मिकता विभोर चुलियो कैवल्य पाएँ हद
दुर्गा उत्तम याममा शरदको फुल्दै थियौ मञ्जरी
बास्ना मग्मग फैलियो पवन नै आँधी तथा बेहरी
चल्दा चञ्चल नेत्र वाण सहसा बन्दै गएँ घायल
बज्दा मादल साथ साथ मुजुरा घन्के बजे पायल
त्यो आत्यन्तिक प्रेरणा प्रकटमा झुम्मै म पर्दै थिएँ
माग्यौ हात दिएँ छ कारण कुनै, आत्मा सबै सुम्पिएँ
च्याप्दा चप्प गरेर जोड बलले उम्की कसै चम्किएँ
आँखाले जब डाकियो नजिकमा, सुस्तै त्यतै लम्किएँ
दुर्गा सप्तसती जपेर मनले चण्डी भवानी पद
आँखाबाट बहेर अश्रु जलले पग्ली पखालें मद
पाएँ आसिक मातृका चरणमा झुक्दै थिएँ बेहद
झन् आध्यात्मिकता विभोर चुलियो कैवल्य पाएँ हद
गर्दा क्रन्दन काखमा हजुरको संसारका वैभव
मिल्ने छन् भनियो छ प्राप्त वर जो बन्ने सधैं शैशव
आमाको शुभ वक्ष तृप्त चुसियो, सञ्जीवनी सादर
आमा आसिक बक्सियोस् हजुरले साक्षात् सफा होस् वर








