सुशील खनाल ।बुटवल
प्रतिनिधिसभा निर्वाचन रुपन्देही क्षेत्र नम्बर २ को बुटवलमा एमालेका विष्णु पौडेल संग डाक्टर निकोलसले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन। प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र उम्मेवारी दिनेको लहर चलेको छ । राजनीतिबाहेक अन्य क्षेत्रमा संलग्न र अन्य क्षेत्रबाट ख्याती कमाएका व्यक्तिहरु चुनावी मैदानमा उत्रिने घोषणा गरिरहेका छन् ।अघिल्लो पटकभन्दा यो पटक युवाहरूको पनि निर्वाचनमा चासो र सक्रियता बढेको छ । “राजनितीमा युवाहरूको रुचि बढ्नु भनेको सकारात्मक पक्ष पनि हो” स्थानीय बासिन्दा बिष्णु जिसी को भनाई रहेको छ । पुरानै राजनितिक दलहरू र पुरानै नेताका अनुहारले दिक्क मानेको पुस्ता नै राजनितिमा होमिनु शुभ संकेत भएको चर्चा चुनावी मैदानमा चल्ने गरेको छ। यस्तै स्वास्थ्य क्षेत्रका युवा हुन् डा. निकोलस भुसाल । भुसालले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेर मतदाताको घरदैलोमा पुगेका छन्। निकोलसलाई जिताउन यति बेला पूर्व एमाले निकट युवा विद्यार्थी नेता दिपेश राज नेपाल खुलेरै अभियानमा लागेको देखिन्छ। उनको जनता सामु राम्रो सम्बन्ध र पहिचान भएकाले आफू खुलेर लागेको दिपेश राज नेपालले खबर बुटवलका संवाददाता ऋतु क्षेत्री लाई बताए।

डा. भुसाल विगत ३ महिनादेखि आफ्नै चुनावी क्षेत्र रुपन्देही २ मा बसेर चुनावी तयारी गरिरहेका छन्। डा. निकोलस लगायतको समूहले चलाएका अभियान, स्वास्थ्य सिविरको कारण मतदाताहरु आकर्षित बनेका छन् । रुपन्देही-२ बाट यसअघि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएका छन् । उनै पौडेलविरुद्ध खडा भएका डा. निकोलस अहिले चर्चाको शिखरमा छन् । स्थानीय बासिन्दा अनुसार “एमालेको उपाध्यक्ष त्यसमाथि लगातार जित्दै आएको नेताविरुद्ध चुनावी मैदानमा खडा हुनु चुनौतीपूर्ण काम हो।” आफ्ना एजेन्डा र सोचको हिसाबले जनताले साथ दिएको डा. भुसालले बताउने गरेका छन् । यो क्षेत्रमा एमालेको जनमत पनि उल्लेख्य मानिन्थ्यो तर हालै सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाले सो अवस्थामा परिवर्तन भएको देखाउछ। पौडेलले प्रदेश राजधानीको अडान लिन नसकेको भन्दै आलोचना समेत हुने गरेको छ। विगतमा पौडेलकै चुनावी मोर्चा सम्हाल्दै आएका हाल नेकपा एकीकृत समाजवादी रुपन्देहीका केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ पौडेलकै क्षेत्रबाट सिफारिस भएका छन् भने स्वतन्त्र उम्मेदवारी घोषणा गरेर डा. भुसाल खटिरहेका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा खटिएका भुसाललाई युवाहरूले रुचाएका छन् । भुसाल काठमाडौं महानगरमा स्वतन्त्रबाट मेयरमा जितेका बालेन शाहकै चुनावी अभियानमा सहभागी युवा हुन् । उनी बालेन जिताउने अभियानदेखि उनका एजेण्डा बनाउने सम्मको अभियानमा खटिएका हुनाले बालेन पनि उनको चुनावी प्रचारको लागि रुपन्देही आउन सक्ने चर्चा छ । युवा र डाक्टरहरूको पुरै समर्थन पाएका भुसाल आफूले जित्नेमा ढुक्क छन् । स्थानीय तहको निर्वाचनमा एमालेले जनमत गुमाएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन्मा पनि एमालेलाई निकै सकस पर्ने आँकलन गरिएको छ । यद्यपि उपाध्यक्ष पौडेल भने निरन्तर खटिरहेका छन् । स्थानीय नेताहरू एमालेलाई यो निर्वाचनमा निकै सकस पर्ने बताउँछन् । रुपन्देही–२ बाट नेकपा एसका केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । गुरुङ एमाले विभाजन अगाडिसम्म विष्णु पौडेलको चुनावी कमाण्डर हुने गरेका थिए । त्यसैले पनि गुरुङलाई उम्मेदवार बनाउने सम्भावना रहेको स्थानीयहरुको आंकलन रहेको छ। ०७४ को निर्वाचनमा पनि पौडेल यो क्षेत्रबाट निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार बन्दै पौडेलले ४४ हजार ३ सय मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९३७ मत पाएका थिए । गिरी कांग्रेसका जिल्ला तहका नेता हुन् । यसपटक गठबन्धनमा यो क्षेत्र एकीकृत समाजवादीले पाउने पक्का भएको बताइन्छ । एमाले निकट युवा संघका पूर्वउपाध्यक्ष गुरुङ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपन्देही जिल्ला अध्यक्ष थिए । तर एमाले विभाजनसँगै उनी एकीकृत समाजवादीतिर लागे । यसपटक पौडेल, भुसाल र गुरुङको तृपक्षीय चुनावी भिडन्त निश्चित छ । देशभर युवा र स्वतन्त्रको लहर चलेकाले मतदाताले बालेन समूहका भुसाललाई रोज्नसक्ने केही कारण भने छन् । भुसालको समर्थनमा पूर्वसचीव भीम उपाध्यायले समेत अभियान चलाएका छन् । त्यसमाथी राष्ट्रिय कलाकारहरूले पनि भुसाललाई समर्थन गरि रहेका छन ।








