सफल नागरिक जीवन यापन तथा राष्ट्रिय जीवनका सर्वांगीण आयाममा अर्थपूर्ण भूमिकाको प्रवर्द्धन गर्ने अपरिहार्य सचेतन “
नागरिक
कुनै पनि मुलुकको कानूनी तथा राजनैतिक आधार प्राप्त भएको वा प्राप्त गर्न योग्य रहेको व्यक्ति नागरिक हो । नागरिक हुनका लागि जुनसुकै मुलुकबाट वैधानिक स्वीकृति प्राप्त गरेको हुनुपर्दछ । नागरिकता प्राप्त गरेको वा गर्ने योग्य मात्र नभाई राज्य प्रतिको आस्था, माया र राष्ट्रियताको भावना साथै सार्वभौम प्रतिको उच्च प्रतिवद्धता राख्ने व्यक्ति नागरिक हुन्छ । नागरिक सामाजिक प्राणी हो जो असल, सभ्य, समतामुलक, एक्यवद्धता सहितको सुयोग्य समाजमा बस्न चाहान्छ ।
शिक्षा
नागरिक लाई असल, मर्यादित, इमान्दार, योग्य, नैतिकवान, साथै ज्ञानवर्धक बनाउने अस्त्र शिक्षा हो । पौराणिक कालबाटै शिक्षा हासिल गर्दै एक सचेत र सुयोग्य बन्दै आएका छन् नागरिक । नागरिकलाई संवेदनशील र अनुशासित बनाउने माध्यम हो शिक्षा ।
नागरिक शिक्षा
नागरिकलाई राजनीतिक, सामाजिक, आर्थिक, नैतिक, कर्तव्यनिष्ठ बनाउदै अधिकारको वाञ्छनीय उपयोग गर्ने र नागरिकलाई सक्रियता अनि सशक्तिकरण गराउने औजार नागरिक शिक्षा भनिन्छ । नागरिकलाई चाहिने सचेतन अभिवृद्धि गराउने साथै मानवतावादी र भातृत्व भावना को उजागर गराउने गर्दछ नागरिक शिक्षा ले । आजको परिवर्तनशील समाज र राष्ट्रमा नागरिकलाई आधारभूत शिक्षामा पहुँच योग्य बनाउने जिम्मा सरकारको पनि हुनेछ । आधुनिक युगको परिवर्तनशील विश्वमा नागरिकलाई शिक्षित बनाउदै मुलुकको सर्वाङ्गीण आयाममा विकास तथा राष्ट्रिय समृद्धिको आधार निर्माण पनि गर्न सकिन्छ । राज्यको हरेक विषयमा नागरिकको पहुँच हुनु तथा त्यस प्रतिको चासो र सचेतन हुनु राम्रो हो । विश्वमा नव शासन प्रणाली लोकतान्त्रिक शासन प्रणालीमा लोकतान्त्रिक मूल्य मान्यता, पद्धति र संस्कृतिको विकास गरी लोकतान्त्रिक शिक्षाको प्रादुर्भाव बाट नागरिकको जीवन गतिशील र परिवर्तनशील बनाउन सकिने छ ।
सार्वभौम जनताको रुपमा परिचित नागरिक आफ्नो कर्तव्य र अधिकारको उपयोग तथा राज्यद्वारा सञ्चालित शासन र कानूनी अनि संवैधानिक चेतनाको अभिवृद्धि गर्ने उपयुक्त शिक्षा नागरिक शिक्षा हुने छ । नागरिक शिक्षा कै माध्यमबाट मुलुकले राष्ट्रको लागि आवश्यक नेतृत्व दिलाउ मद्दत गर्दछ ।
असल व्यक्तित्व विकास गर्दै समतामुलक समाज, सद्भाव, सहिष्णुता र चेतनामुलक समाजको साथै राष्ट्र निर्माण गर्ने ध्याय राख्ने यो शिक्षा साच्चै आजको परिवर्तनशील समाजको अपरिहार्य तत्व बन्न पुगेको छ । वैयक्तिक अधिकार, वैयक्तिक दायित्व, संविधान, कानून, सामाजिक – सांस्कृतिक बहुलवादको जगेर्ना गर्न नागरिकलाई चाहिने सचेतनामुलक शिक्षा नागरिक शिक्षा हुने छ ।
नागरिक शिक्षामा समावेश हुनुपर्ने विषयहरू निम्न बमोजिम रहेका छन् :-
देशको संविधान तथा कानुन साथै सरकार
राष्ट्रिय एकता, अखण्डता, स्वभिमान एवम् राष्ट्रिय सुरक्षा,
मानव अधिकार, मौलिक हक र कर्तव्य,
विकास र विकास व्यवस्थापन शिक्षा,
नागरिक सहयोग, सहभागिता र सक्रियता,
सहिष्णुता, सद्भाव र एकता,
समाजिक न्याय, समानता र द्वन्द्व व्यवस्थापन,
निर्वाचन प्रक्रिया र राजनीतिक संस्कार, आदि ।
नेपालमा नागरिक शिक्षाको विकास
राणा काल ताका नागरिक शिक्षा/ चेतना निम्न अवस्थाबाट गुज्रिएको तथा राणा कालमा जनता शिक्षित भए गाथगद्दी ताक्छन् भन्ने निरीह अवस्था थियो । २००७ सालमा नेपालको साक्षरता दर २ प्रतिशत मात्र रहेको पाइन्छ । भने, २००७ सालको प्रजातान्त्रिक अभ्युदय संगै औपचारिक रूपमा विद्यालय तथा विश्वविद्यालयको सुरुवात भएसंगै नागरिकलाई उपयुक्त शिक्षा पनि अभ्युदय भयो । विविध राजनीतिक लहर संगै २००७ चैत्र २० गते रेडियो नेपालको स्थापनाले अझै प्रभावकारी बनाउन थाल्यो नागरिक शिक्षा । विविध पत्र पत्रिका, टेलिभिजन तथा राजनीतिक दलका घोषणा पत्र र सक्रियतामा नागरिक चेतना/शिक्षा बढोत्तरी भयो । नागरिक ऐन २०१२, २०१५ सालमा संसदीय निर्वाचनले नागरिकलाई सशक्त र चेतनशील बनाउदै लग्यो । राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ ले शिक्षामा आधुनिकीकरण तथा नागरिकको वृद्धि विकासमा योगदान गर्यो । त्यस्तै, २०३६ सालको जनमतसंग्रह, संवैधानिक विकासक्रम, शासन प्रणालीमा परिवर्तन र नागरिकको सहभागिताले चेतना तथा शिक्षाको अभिवृद्धि गर्दै आएको छ ।
वर्तमान संविधानमा नागरिक चेतना/ शिक्षाका लागि वृहत्तर मौलिक हक जस्तै, धारा १९ मा सञ्चारको हक, धारा २७ मा सूचनाको हक, धारा ३१ मा शिक्षा सम्बन्धी हक र धारा ३२ मा भाषा तथा संस्कृतिको हक समावेश गरिएको छ । साथै समावेशी समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था अख्तियार गरी नागरिकलाई लोकतान्त्रिक शिक्षाको प्रादुर्भाव गरिएको छ ।
अन्तत :- नागरिक शिक्षा आज आवश्यकता र महत्व मात्र नभई सचेतनामुलक शिक्षा बनेको छ । ज्ञान, शिक्षा तथा चेतना भएको नागरिक अवश्य पनि इमान्दार, नैतिकवान, सदाचारी र अनुशासित हुने छ भने, आफैमा असल परिवर्तन ल्याएर समाज र राष्ट्रको लागि आवश्यक परिवर्तन पनि गर्न सक्ने हुन्छ त्यस्तो नागरिक । एउटा मुलुकलाई चाहिने सभ्य नेतृत्व छान्ने देखि लिएर राज्यलाई रुपान्तरणकारी ढङ्गले सञ्चालन गर्न सक्ने छवी बनाउँछ नागरिक शिक्षा ले । उदाहरणका लागि परापुर्व कालमा चाणक्य, उनले ज्ञान तथा शिक्षा अभिवृद्धि गर्न गरेको योगदान र अर्थशास्त्र, राजनीतिक एवम् चाणक्य सूत्रको माध्यमबाट एउटा राज्यको लागि आवश्यक अस्त्र परिष्कृत गरेका थिए ।








