तनहुँ
नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)को २३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा तनहुँ जिल्लाबाट दुइ जना निर्वाचित भएका छन् । जसमा एक जना केन्द्रीय कमिटि सदस्य गण्डकी भुगोलदेखि र एक जना केन्द्रीय अनुशासन आयोग सदस्यमा निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न निर्वाचनमा शुक्लागण्डकी ठेगाना भएका गोबिन्द महत केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएका छन् भने ऋषिङ्ग-५ ठेगाना भएका आकाश गिरी केन्द्रीय अनुशासन आयोग सदस्यमा निर्वाचित भएका हुन।
केन्द्रीय सदस्य महतले ९७ मत पाए भने आयोग सदस्य गिरीले ८४९ मत पाएका थिए जुन दुबैको पदमा सर्वाधिक मत हो। निर्वाचित भएका सम्पूर्ण सदस्य तथा पदाधिकारीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै पार्टी केन्द्रीय कार्यालयमा सपथ ग्रहण गराएका थिए ।
अनेरास्ववियुको २३ औं महाधिवेशनबाट काभ्रेको रोसी गाउँपालिका–९ स्थायी ठेगाना भएका समिक वडाल अध्यक्ष, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ति, मर्यादा विष्ट निर्वाचित भएका छन् । संगठनको महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव धिताल, डा. सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, दिपक धामी, आशिर्वाद सुबेदी, मनोज ताम्ली, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका हुन् । कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । अधिवेशनमा एक हजार ५१७ जनाले मतदान गरेका थिए । महाधिवेशनले आगामी २ वर्षका लागि १७ पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।








