पहिलो पटक बस आउँदा खुशियालीमा अविरजात्रा

तनहुँ

पुर्ण विके

व्यास नगरपालिका ११ घाँसीकुवादेखि भानु नगरपालिका ७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुशियालीमा अविरजात्रा गरेका छन् ।
२०४८ सालमा सुरु गरिएको उक्त मोटरमार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटरमार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविरजात्रा सहित स्वागत गरेका हुन् । यस मार्गमा सवारीसाधन संचालन नहुँदा दमौली आउन घण्टौं पैदल हिड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका ६ स्थित वागेश्वरी आमा समुहकी अध्यक्ष विन्दु वाग्लेले बताउनुभयो ।
‘यस मोटरमार्गमा सवारीसाधन नचल्दा हामीलाई विरामी लिएर अस्पताल जान पनि समस्या थियो,’ वाग्लेले भन्नुभयो, ‘अब नियमित बस चल्ने भएपछि खुशियालीमा अविरजात्रा सहित स्वागत गरेका हौं ।’
चन्द्रावतीदेखि पड्केपसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौं स्थानीय बाटोमा भेला भई बसलाई अविरजात्रा सहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलो पटक बस संचालन गरिएपछि स्थानीयले आफूहरुलाई अविरजात्रा सहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताउनुभयो ।
आफूहरुले करिव ३० बर्ष अघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस संचालन हुनुले स्थानीयलाई ठुलो राहत पुगेको उक्त मोटरमार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताउनुभयो ।
‘यस मार्गमा नियमित सवारीसाधन नहुँदा प्रशासनीक कामले दमौली जानुपर्दा घण्टौं हिड्नुपर्ने अवस्था थियो,’ खड्काले भन्नुभयो, ‘अब भने दैनिक बस संचालन हुने भएपछि भने स्थानीयलाई निकै राहत हुने भयो ।’
घाँसीकुवादेखि भानु नगरपालिका ६ पड्केपसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटरमार्ग पर्दछ । तर थप ९ किलोमिटर पक्कि सडक खण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिले जनाएको छ । उक्त मार्गमा बस संचालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो । चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नु पर्नेमा यस मार्गबाट २३ किलोमिटरमै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग वस संचालक समितिसँग समन्वय गरी बस संचालन गरिएको र भाडा दर समेत न्युनतम तोकिएको उक्त मोटरमार्गका अध्यक्ष विवेक भट्टराईले बताउनुभयो । स्थानीय नेता गोविन्द भट्टराईको पहलमा मार्ग स्तरोन्नती गरिएपछि बस संचालनमा सहज भएको उहाँले बताउनुभयो ।
‘यस मार्गमा बर्ष भरी नै सवारीसाधन संचालन गर्ने गरी व्यवस्था गरेका छौं,’ अध्यक्ष भट्टराईले भन्नुभयो, ‘बस संचालन गरिएपछि स्थानीयलाई निकै ठुलो राहत भएको छ ।’ उक्त मार्गमा दैनिक वस विहान चन्द्रावतीबाट छुट्ने र मध्यान्ह ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.