बन्न साहित्य माली

मन्दाक्रान्ता छन्द

१. रोजे जस्तै तरुण विपना विश्व सर्वोच्च माथा अग्लो आस्था अटल मणि झैं चम्किने भव्य गाथा आएकाे हो अचम नमुना विश्व साहित्य भर्न ल्याई सङ्गै अमर सुषमा साथ सौन्दर्य चर्न ।

२. मथ्दै आभा रचित विधिले वेदका मन्त्रसार आएको हो अचम गहना बन्न सङ्लो अपार बाँड्ने चेष्टा मणिमय बनोस् चम्किएको प्रणाली भन्दै जागा अभिनव खुले बन्न साहित्य माली ।

३. श्रद्धा भर्ने हर हृदयमा विश्व कल्याणकारी आए संस्था अचम उपमा चल्न थाल्यो सवारी हुर्कन्छन् जो सरल विरुवा बोट सञ्जीवनीका ऊर्जा उम्रे अवयव खुली पूर्ण छन् जीवनीका ।

४. कुल्चे सारा कपट शठता मूर्खता तालमेल पीठो पारे सकल सजिलै शत्रुता जालझेल मीठो बाँडे समुचित सुधा पुण्य आचार साथ श्रेया प्रेया उचित प्रतिभा बढ्छ आस्था प्रगाढ ।

५. इच्छा राखे कुशल कविता लेख्नमा स्वाद मानी साक्षी डाके मन कुसुमको साथ बास्ना इमानी चाल्दै जान्छन् कदम सजिला पाइला सुस्त चाला डाके आए अमर महिमा चम्किएका उज्याला ।

६. गर्दै जाँदा कसरत यसो छन्द साहित्य लेख्न राम्रो हुन्थ्यो सरल गणको साथ सम्मान देख्न आफ्नै आत्मा पुलकित हुने मिल्छ सौन्दर्य सार नाच्ने हाँस्ने सुगम क्षमता मिल्दछन् वारपार ।

७. खोजे रोजे सरह सुविधा पाइने वर्तमान भोका नाङ्गा सहज सुखमा उक्लिएको बिहान पार्ने सारा कपट शठता त्रासमा थर्कमन लेखून् श्रष्टा मधुर रचना फैलियोस् कीर्तिमान ।

८. पाएको अहिले उदार मनको उत्कृष्ट याे भावना मिल्ने आपसमा विचार चुलियोस् खोजेर सम्भावना आत्मा शुद्ध बनोस्, भनोस् हृदयले सम्मान होस् व्यापक श्रष्टा सक्दछ बन्न स्वस्थ बलियो संस्कार संस्थापक ।

९. डुब्दा अक्षरमा विशिष्ट पलमा आरोग्य ताजा भरी खेल्ने खेल बनोस् सुरम्य विपना आएर साथी परी लाने घुम्न गरून् विमर्श चतुरी सोपान अग्ला चढी आओस् निर्मल चाहना मन भरी निर्दोष आँखा पढी ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.