आशिष पौडेल
आवधिक निर्वाचन लोकतन्त्रको उत्कृष्ट मान्यता हो । लोकतन्त्रलाई संस्थागत गर्न एवम् लोकतान्त्रिक मूल्य र मान्यतालाई उचित व्यवस्थापन गर्ने अन्तरवस्तु आवधिक निर्वाचन हो । लोकतान्त्रिक मुलुकमा निर्वाचन स्वभाविक हुन्छ । जनताले शासनमा स्वयं सहभागी हुने अथवा जनताद्वारा चुनिएका प्रतिनिधिको माध्यमबाट शासन प्रणालीमा सहभागिता जनाउने भन्ने हुन्छ । त्यस्तै नेपालले प्रतिनिधिमूलक लोकतान्त्रिक शासन व्यवस्थाको अवलम्बन गरेको छ । जनताको अमुल्य मताधिकार द्वारा आफ्नो विश्वासिलो प्रतिनिधि चुन्ने अधिकार हरेक नेपाली जनतामा रहेको छ ।
वि. सं. २०१५ फागुन ७ वाट आम निर्वाचनको सुरुवात भएको नेपालमा अहिले सातौं आवधिक निर्वाचन संघ तथा प्रदेशको गर्ने संघारमा रहेको छ । प्रतिनिधिसभाको चुनाव :- २०१५, २०४८, २०५६, २०६४, २०७० र २०७४ गरेर ६ वटा सम्पन्न भएको थियो ।
हालसम्म चुनिएका प्रतिनिधि कति फलदायी भए, कस्तो सकारात्मक क्रियाकलाप गरे र कति राष्ट्रिय हितका निम्ति उपयुक्त भए त्यो त जनताले मुल्यांकन गर्ने विषय हो । २०४८ साल बाटै चुनाव लडिरहेका अनुहार पनि छन् भने कति नयाँ जोसका साथ छन् । विगतमा कहिले कांग्रेस त कहिले कम्युनिष्ट जनताको रोजाइमा परे । केही हद सम्मको परिवर्तन र विकास तथा अधुरा काम पनि भएका छन् । हालको सरकार भन्दा पहिलेको कम्युनिष्ट सरकारले भारतको अधिनमा रहेको भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो नक्सामा राख्ने आंट गरेको थियो । सोहि समयमा संयुक्त राष्ट्र संघले नेपाललाई अति विकसित वाट विकासिल मुलुकमा स्तरोन्नति गर्ने भनि घोषणा पनि गरेको थियो । त्यस्तै विभिन्न अपुरा विकासात्मक गतिविधिहरू भए तथा समृद्ध मुलुक बनाउने अठोट पनि गरिएको पाइन्छ । त्यस्तै, त्यो भन्दा अगाडिका सरकारले पनि ऐतिहासिक कार्य गरेका छन् होला ।
के को आधारमा भोट हाल्ने अब ?
समसामयिक अवस्थामा युवा राम्रो रोजाइमा छन् । हुन पनि हो, एउटा जोस जाँगर, शिक्षित, दुरदर्शी युवा पकै पनि उपयुक्त होला मुलुकलाई तर युवा पृथक हुन्छ जसलाई अनुभवी तथा इमान्दार नेताले संगै गोरेटोमा हिडाएर, अभिभावकत्व गर्दै मुलुकको उज्ज्वल भविष्य बनाउन सक्छ । अनुभव भनेर मैई खाउ मैई लाउ भन्दै सत्तामा पुग्ने अनि राष्ट्रिय हित विपरितको त्यस्तो अनुभव अव उपयुक्त नहोला । ०४८, ०५६ साल देखि चुनाव जित्दै आएका नेताहरु भनिन्छ नि मर्ने बेलामा हरियो काँक्रो भनेझैं अझै पनि देशलाई मेरो खाँचो छ, मुलुकको काचुली फेर्न छ भनेको सुनिन्छ । लामो समयदेखि जितेर चै के को काचुली फेरेर अब पनि त्यो बोलिको विश्वास कति गर्ने ।
त्यस्तै युवा मात्र भनेर भएन ऊ संगको योजना, नीति, भावि एजेण्डा कस्तो छ त्यसको आधार हुन्छ भोट हाल्ने । अस्थिरता, अनियमितता, भ्रष्टाचार, अराजकता हटाउने अठोट छ, जस्ले संविधानको रक्षा गर्छ, कानूनी राज्यको परिकल्पना दिलाउछ, सार्वभौमसत्ता, राष्ट्रियता, स्वाधिनता, लोकतन्त्रको रक्षा, सुशासन, समुन्नति, समृद्धि एवम् राष्ट्र प्रतिको इमान्दारिता र अभिभावकत्व गराउन सक्छ उसैलाई आफ्नो मताधिकारको वाञ्छनीय प्रयोग उपयुक्त होला ।
अन्ततः स्वतन्त्र, निष्पक्ष एवम् वाञ्छनीय मताधिकारको प्रयोग लोकतन्त्रको आधार जस्तै नेपाली जनताले पनि आफ्नो अधिकारको उचित प्रयोग गर्लान् । हाम्रा लाई होईन राम्रालाई भने जसरी आवश्यकता र प्राथमिकता लाई पहिचान गर्न सक्ने प्रतिनिधि चुनेर लोकतन्त्रलाई सफल बनाउने साथै समृद्धि को बाटोमा मुलुकलाई हिडाउने लाई जिताउने छन् नेपाली जनताले ।








