भगवान (विवि) राज श्रेष्ठ
जलचर यत्रचत्र घुमिरहे जस्तै पल पल घुमिरहे । यात्राको दौरान असंख्य अस्तित्वमा भुमरीमा घुमिरहे । निस्कनका लागी गरिएका प्रयत्नमा कोही सफल देखिए त कोही वाध्यतामा रुमल्लिईरहे । लाग्यो, जीवनका चक्र पनि यहि रहेछ । प्रयत्न गर्नु एउटा कुरा, नगर्नु अर्को पाटो, सफल हुनु एउटा पाटो, असफल हुने अर्को पाटो । कोही पल पल घुमिरहे । कोही निस्किए । यहि वीचमा सोधिएका प्रश्नका जवाफ सायद प्राप्त नहोला, यद्यापी थप रहस्यमय भने वनाईदियो ।
छालको वहाव पनि फरक । देख्ने नयन कि सत्यता । यस भित्रका सामिप्यतामा सिङ्गो जीवन देखिने । सत्यता र यथार्थवोध पनि हेर्ने दुष्टिकोणमा भर पर्ने रहेछ । देखाई र वुझाईलाई नै सत्यता सम्झनेहरु त्यसलाई नै वोकेर जीवन व्यतित गरिरहे । तर सोच्ने शैली र वुझाईको अस्पष्टतामा रुमल्लिनेहरुको भीडमा कतै आफुलाई पनि पाईरहेको सत्यतालाई वोध गर्ने हिम्मतको दृस्साहस पैदा भएको छ । जसले अन्धकारमा पनि वोधत्व गरिदिन्छ ।
उद्येश्यको विकरालमा प्राप्तिका अवस्था सहज नहुदाँ वाटो वदल्नेहरुको भीडमा हराएजस्तो । पुरा गर्ने अवस्था असहज हुदाँ परिभाषा वदल्ने सोचको विकास तिव्रताका साथ हुने रहेछ । वाध्यता कि चुनौतिको सामना गर्न सक्ने आत्माविश्वासको कमी । वाटो वदल्नेको भीडमा व्यग्रताका साथ लागेता पनि आत्मिक असन्तुष्टिको पर्खालले भने निरन्तर छेकिरहे ।
विश्वासको सम्वन्ध अटुट हुने रहेछ । भुमरीको वर्वरतामा जीवनको उर्वरताहरु शिथिल वने । लाग्दछ, अवको वाटो विगतको सम्झनामा जीवनका निरन्तरता भन्दा पृथक वन्ने छैनन ।
विश्वासको सम्वन्ध अटुट हुने रहेछ । भुमरीमा अल्झिएको पतिंगर जस्तै । त्यही भुमरीको वर्वरतामा जीवनको उर्वरताहरु शिथिल वने । लाग्दछ, अवको वाटो विगतको सम्झनामा जीवनका निरन्तरता भन्दा पृथक वन्ने छैनन । हारेका शिकारी जस्तो नयनमा प्रष्ट देखिन्थ्यो । छल्किएको छालहरुमा देखिएको अनियन्त्रित गतिले जीवनवोध गरायो । कहिलेको तेज छाल त कहिलेको सकिने चालले मस्तिष्कमा कम्पन गरायो । यहि कतै कतै रहेजस्तो । समिपमा नै रहेजस्तो । भौतिक साथ विनाको यादले अन्तत ह्दयमा निर्मम पीडा दिने रहेछ । विश्वासको सम्वन्धमा भौतिकताको अर्थ नहुने रहेछ । फेरि पनि आत्माको पीडा अथाहा हुने रहेछ ।
प्राप्तीको परिभाषामा पनि चेतनाको प्रभाव हुने रहेछ, क्यारे ! नत्र यहि सोचमा समानता प्रभाव भित्र किन रहेन ? वाध्यता कि महत्वकांक्षा ? महत्काक्षांमा वाध्याता वन्धक वनिदियो क्यारे ! महत्वकांक्षा र वाध्यताको तादात्म्यता मिलाउन नसक्दा विश्वासको सम्वन्ध नै धर्मराउने जस्तो ।
शरिरको अंगमा पनि चिसो अनुभुति हुन थाल्यो । लाग्यो समयले आफनो चक्र पुरा गर्ने वाटोमा छ । चंचल लागेको आत्मा ढल्मलिएको छ । अनुभुतिमा आएको परिवर्तनले जीवनको वोध गरायो । लाग्यो, परिवर्तनको यो संघारमा उहि सोचमा रुमल्लिनु भनेको कष्टकर जीवन व्यतित हो । सुस्काएको वतासले मनमा दिएको आनन्दता अलौकिक रहेछ । प्रकृतिको यो अनुपमता भित्र साँच्चै जीवन रहेछ । नजिकै खेलिरहेको चराचुरुङ्गी पनि फुरफुर गर्दे उडेर गयो । सोच्दै होला, केहि समय भएता पनि जीवनका गोरेटोमा नयाँ यात्रीको मिलन भयो । अपनत्वको प्रत्याभुति भयो । परको रुखको हाँगामा वसेर वोलाए जस्तो । आफनै भाषामा माया साटे जस्तो । सायद प्राणीको आत्मा मानव जातिको भन्दा निर्मल र स्वच्छ हुन्छ क्यारे । न कुनै लोभ, न कुनै लालसा । ह्दयको साँचो प्रत्याभुत । नदिको वहावमा छल्किएको गतिले ध्यान तरंगित गरायो । क्रिया प्रतिक्रियाका संगम । त्यहि भित्र जीवनका आधारहरु । लाग्यो, जीवन खोज्न टाढा जानुपर्देन । यहि नजिकै, कतै, कसै । भुल्नुपर्ने जीवनको अभिन्न अंग रहेछ, क्यारे । सायद यसैमा जीवनका रस भेटिन्छ, क्यारे ।
सुस्काएको नदिको वहावले पनि परिवर्तनको अभास दिलायो । कहिले सुस्तरी त कहिले वेस्सरी । यो वहावमा पनि अनेकता । सधै समानता र अनुकलतामा जीवन खोज्ने हाम्रो सोच नै वाधक । तिर्मिराएको नयन मिच्दै प्रष्ट्रता खोज्ने दुस्साहस पनि कमजोरीको घोतक मात्र रहेछ । घर्किसकेको सोचमा मल्हम लगाउने प्रयत्नमा अवरोध पनि कति कति । नदिको स्वच्छतामा पनि धुमिल वनाउने अनेकन प्रयत्नहरु रहे । असफल प्रयत्नहरु निष्फल भएर गए । प्रहार त सवैमा रहेछ । एकमा अर्काको, यहि वीचको सृष्टि र जीवन रहेछ । जीवन त आखिर चुनौतीको श्रृखला रहेछ, यो श्रृखला अन्तत्वगोत्व मृत्यृपर्यन्त रहिरहने रहेछ । भेटिने र छोडिनेको वेगल्ती भेलमा सम्वन्ध टिकाउन सक्नु कम्ता चुनौतीपुर्ण रहेनछ । जसलाई निश्चल आत्माले नेतृत्व गर्दछ ।
शव्दको गुजांयश ध्वनिमार्फत गुन्जे । त्यहि शव्दले चंचल, रोमाञ्चक र उत्तेलित वनायो । साँच्चै जीवनको यो दौरानमा सोचको वन्धकतामा विर्को लाग्ने नै हो त ? विश्वासको सम्वन्ध र स्वार्थताको निरन्तर युद्ध चलिरह्यो । एकाग्रता नै जीवनको पाटो रहेछ क्यारे, जहाँ हरेक कुरा सम्भव पाईन्छ । जहाँ असम्भव कुरा हुदैन । जीउने आधार एकाग्रता नै रहेछ, अन्तत्वगोत्व सवैको मार्ग भनेको यहि रहेछ, क्यारे !
सुस्ताएको चाहनामा पनि उर्वरता यहि एकाग्रताले ल्याईदियो । केही पलका लागी भएता पनि संसार नै जिते जस्तो । सवैभन्दा वलियो भयो जस्तो । रक्तसंचारको भेल नै वगेजस्तो । क्षितिज पारी मेरो आत्मा मलाई सम्झेर हेर्दे होला जस्तो ।








