लक्ष्मी माविको नयाँ भवन निर्माण

पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका वडा नं. ३ श्रीमञ्जाङमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको दुई तले भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग विषेश अनुदान कार्यक्रम अन्तर्गत २ करोड ३३ लाख ८ हजार ८३६ रुपैयाँमा सो भवन निर्माण सम्पन्न भएको हो ।

विसं. २०७८ मंसिर महिनामा सम्झौता गर्दै आगामी विसं. २०८० असार २६ गते सम्पन्न गर्ने लक्ष्यका साथ गणपति कन्ट्रक्सन नुवाकोट कम्पनीले निर्माण गरेको थियो । दोर्दी गाउँपालिकाका सवइन्जिनियर विश्वास पाण्डेका अनुसार दुई तले भवन निर्माण सम्पन्न भएको र तेस्रो तल्लाको पिलर उढाउने र ढलान गर्ने कार्य समेत सो रकमबाट सम्पन्न भएको छ । स्टमेन्ट अनुसार काम सम्पन्न भइसकेको र अब बाँकी कामको स्टमेन्ट निकालेपछि भवनको बाँकी रहेको काम पुरा गर्ने उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सुदिप आलेमगरका अनुसार विद्यालयको १ रोपनी क्षेत्रफल जग्गामा दुई तले भवनमा १० कोठा निर्माण सम्पन्न भएको छ । शौचायलय र बाथरुपम समेत निर्माण भएको छ । त्यस्तै, निर्माणधीन रहेको तेस्रो तल्लाको ४ कोठा निर्माण सम्पन्न भएपछि होस्टेल, कम्प्युटर कक्षा, बैठक कक्षा, कक्षा सञ्चालन लगायत सबै सोही नयाँ भवनबाट सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।

कक्षाकोठा अभावमा पठानपाठन सञ्चालनमा समस्या हुँदै आएपनि नयाँ भवन निर्माणले सहयोग पुगेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार हाल यहाँ १०७ जना विद्यार्थी अध्ययनरत् रहेका छन् । यस विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बुधबार एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएको छ । राष्ट्रिय योजना आयोगको निवर्तमान कार्यवाहक उपाध्यक्ष डा. दिलबहादुर गुरुङले नवनिर्मित भवनको उद्घाटन गर्दै विद्यालयका शैक्षिक गुणस्तरका लागि सबैभन्दा महत्वपूर्ण भूमिका विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीकै हुने बताउनुभयो । विद्यालयको अवस्था भौतिक वातावरण शैक्षिक सामाग्री लगायतका कुराहरुले पनि विद्यार्थीको पढाईमा प्रभाव पार्ने भएकाले विद्यालयले विद्यार्थीको बसाईलाई सहज बनाउनुका साथै विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै, गाउँपालिका अध्यक्ष युवराज अधिकारीले यस विद्यालयमा विगतका भन्दा हाल विद्यालयको भौतिक संरचना राम्रो बन्दै गाएपनि राष्ट्रिय व्यापी रुपमा शैक्षिक गुणस्तर कम र विद्यार्थी समेत घट्दै गएकाले शैक्षिक गुणस्तरमा सुधार गर्दै विद्यार्थीहरु बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । गाउँपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकता राखेर अघि बढिरहेको बताउँदै उहाँले आगामी दिनमा अझै शैक्षिक क्षेत्रमा सुधार हुँदै जाने अपेक्षा गर्नुभएको छ । पालिकाभित्रबाट सञ्चालित हाईड्रोपावरबाट रोयल्टी उठाएर विद्यालयलाई सहयोग गर्ने गाउँपालिका अध्यक्ष अधिकारीको भनाई छ ।

कार्यक्रममा उत्कृष्ट अभिभावक तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, गाउँपालिका निवर्तमान अध्यक्ष ओमबहादुर गुरुङल, पालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाली घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.