तत्काल समाजवादी मोर्चामा जाने र वामगठबन्धन निर्माण गर्ने सोच छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउने सोचले नयाँ सत्ता समीकरण नगरेको बताउनुभएको छ ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको वाग्मतीका पार्टी अध्यक्ष तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले अहिले मोर्चा बनाउने वा वामपन्थी गठबन्धन बनाउने सोचका साथ सत्ता परिवर्तनको काम नभएको बताउनुभयो । ‘बाहिर चर्चामा आए जस्तो अहिले नै समाजवादी मोर्चा बनाउने, वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने सोचबाट निर्देशित भएर हामीले यो कामहरू गरेको होइन, अहिले संसदमा रहेको वामपन्थी दलहरू मात्रै मिलेर वैकल्पिक सरकार दिन सक्ने अवस्था पनि छैन’, उहाँले भन्नुभयो ।

वामपन्थी गठबन्धन वा समाजवादी मोर्चा जस्ता कुरा गर्न थालियो भने अर्को मोर्चा पनि तयार हुन सक्दछ भन्ने कुरा बुझ्नु पर्ने पोखरेलको भनाइ छ । ‘जे सच्चाई हो त्यो सच्चाइलाई बुझेर नै प्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्दछ भन्ने मान्यता राख्यौँ हामीले राखेका छौँ’, पोखरेलले भन्नुभयो ।

चार पार्टीसँग एकीकृत समाजवादीलाई पनि जोड्नु पर्छ भनेर मेहनतका साथ एकीकृत समाजवादी पार्टीलाई सरकारमा जोडेको पोखरेलले बताउनुभयो । अहिले यही समीकरणलाई सहज रूपमा अघि बढाउने हिसाबले काम गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । अहिलेको सहकार्य सरकार निर्माणको लागि मात्र भएको उहाँले स्पष्ट पार्नुभयो ।

एमालेको ध्यान अहिले पनि मिसन २०८४ मा नै केन्द्रित रहेको उहाँले बताउनुभयो । एमालेले भविष्यलाई हेरेरै अहिलेको सत्ता सहकार्य गरेको पोखरेलले प्रष्ट पार्नुभयो ।

अर्को प्रसङ्गमा पोखरेलले एमाले सत्ताबाट हटेपछि स्थानीय तहले पनि समस्या भोग्नु परेको बताउनुभयो । गएका दुई वर्ष स्थानीय तहले बजेट कटौतीको मार खेप्नु परेको कारण विकासका काम प्रभावित भएको उहाँले सुनाउनुभयो । ‘त्यस्तो अवस्थामा जनतासँग कसरी जोडिने भन्ने कुरा थप चुनौतीपूर्ण बन्न पुगेको छ’, उहाँले भन्नुभयो ।

पोखरेलले पूर्वाधारको कामले मात्र जनतासँगको सम्बन्ध घनिष्ठ बन्न नसक्ने बताउनुभयो । स्थानीय तहले जनतामा जागरण ल्याउने र आशा जगाउने काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हरेक चिज स्थानीय तहसँग जोडिने भएकोले त्यसलाई जति सहज बनाउन सक्यो त्यति नै स्थानीय तहका जनप्रतिनिधि लोकप्रिय हुने पोखरेलको धारणा छ । वैकल्पिक स्रोत खोजेर नागरिकैबाट लिने शुल्कलाई न्यून बनाउन उहाँले सल्लाह दिनुभयो ।

पोखरेलले पार्टी र जनप्रतिनिधि बिच गहिरो सहकार्य हुनुपर्ने तर्फ पनि जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो । जनप्रतिनिधिले पार्टीको सहयोग बिना म सफल हुन सक्दिन भन्ने कुरामा सदैव ध्यान दिनु पर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.