दमौली, ९ मंसिर । पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेकामा जोड दिइएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आयोजना र बन्दीपुर गाउँपालिकाको व्यवस्थापनमा बन्दीपुर गाउँपालिका–४ सिद्धगुफामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले बन्दीपुरको पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीले निरन्तर कलम चलाइरहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिन जोड दिइएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको महशुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकार महासङ्घले यस ठाउँको प्रबद्र्धनका लागि आयोजना गरेको कार्यक्रम निकै महत्वपूर्ण छ । जति मात्रामा प्रचारप्रसार भयो, त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ । यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको आयआर्जन पनि बढ्छ ।

” सिद्धगुफाको प्रचारप्रसार राष्ट्रिय स्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रबद्र्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । थापाले यस ठाउँमा रङरोगन, सिढी मर्मत, बस्ने आरामस्थल निर्माण गरिने बताउँदै सौन्दर्यकरणको कामलाई जोड दिइएको बताउनुभयो । धार्मिक महत्वका हिसाबले पनि सिद्धगुफा महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष थापाले यहाँ बोलबम मेला लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सिद्धबाबाको दर्शन गर्न पाइन्छ, यहाँ दर्शन गरेपछि चिताएको कुरा पुग्छ भन्ने किंवदन्ती रहेको छ ।” देशका महत्वपूर्ण ठाउँमध्ये एकपटक पुग्नैपर्ने ठाउँ भनेर सिद्धगुफालाई बनाउन सकिने र त्यसमा सञ्चारकर्मीले कलम चलाएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर नेपालकै पर्यटकीय नगरी हो । यहाँका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसारका लागि पत्रकारहरुले सहयोग गर्नुपर्छ ।

” बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर कुंवरले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार हुनुपर्नेमा जोड दिनुभयो । बन्दीपुर गाउँपालिका–३ का वडाध्यक्ष परमेश्वर भट्टराईले पत्रकारको कलम शक्तिशाली हुने भएकाले यहाँको पर्यटनका लागि कलममार्फत् सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले बन्दीपुरको पर्यटन प्रबद्र्धनका लागि विगतदेखि नै सञ्चारकर्मीले सहयोग पु¥याउँदै आएको उल्लेख गर्नुभयो । शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बन्दीपुर गाउँपालिका–४ का वडा सदस्य भिम घले, शाखाका उपाध्यक्ष प्रताप राना, सचिव कृष्ण न्यौपाने लगायतले धारणा राख्नुभएको थियो ।








