तनहुँको भानु नगरपालिका वडा नं. २ मा रहेको आम्बोटे कालिमाटी बोरिङ्ग खानेपानी आयोजना सुरु भएपनि पाइप अभावका कारण उक्त बोरिङ खानेपानी आयोजना अलपत्र परेको छ । २०७९ फागुनबाट सुरु भई २०८० बैशाख भित्र सम्पन्न हुनुपर्ने उक्त आयोजनाको कुल लागत २३ लाख ३४ हजार सात सय २४ रुपैयाँ रहेकोमा जनश्रमदानबाट तीन लाख ६४ हजार सात सय २४ बेहोरिएको बताइएको छ ।

दुई सय घरधुरीका जनताले प्रत्येक घरधरमा खानेपानीको सेवा पाउने लक्ष्यका साथ अगाडी बढेको उक्त आयोजना सम्पन्न गर्नका लागि पाइप अभावका कारण आयोजना अलपत्र परेको उपभोक्ता समितिका अध्यक्ष शिवराज त्रिपाठीले बताए । उक्त बोरिङ्ग खानेपानी आयोजनाबाट निस्किएको पानी गुणस्तरीय तथा सोचेभन्दा बढी पानी निस्किएको छ ।

स्थानिय समाजसेवी एवं उपभोक्ता कृष्णबहादुर घिमिरेले बोरिङ्गबाट पानी सफलतापूर्वक निस्किएको र यस क्षेत्रलाई पुग्ने पानी भएतापनि स्थानिय निकाय तथा प्रदेश सरकारबाट प्रयाप्त बजेट अभावका कारण आयोजनालाई अगाडी बढाउन कठिनाई परेको बताउदै थप पाइपको अभावले घरघरमा पानी वितरण गर्न नसकिएको बताउछन् । उक्त आयोजना सुचारु गर्नका लागि पाइपको अभावले रोकिएको अन्य स्थानिय बासिन्दाहरुले समेत बताएका छन् ।











