तनहुँ- व्यास नगरपालिका ११ नम्बर वडा कार्यालयले आफ्नो वडाका टोल विकास संस्था र आमा समुहका अगुवालाई लेखा व्यवस्थापन तालिम प्रदान गरेको छ ।
संस्थामा आम्दानी र खर्चको लेखा प्रभावकारी तवरले नराख्दा आर्थिक पारदर्शीता नहुने भएकोले ३५ वटा टोल र १५ वटा आमा समुह गरी ५० जना अगुवालाई तालिम प्रदान गरिएको व्यास नगरपालिका वडा नं.११ का वडा अध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । लेखा व्यवस्थापन प्रभावकारी नहुँदा विकास निर्माणको सम्पूर्ण पद्धति नै कमजोर हुने भएकोले पनि आफूहरुले तालिम दिएको अध्यक्ष दुराको भनाई छ । व्यास नगरपालिकाको १४ वटा वडा मध्ये धेरै टोल भएको वडा नै व्यास ११ रहेकोले पनि तालिमको आवश्यक भएको अध्यक्ष दुराले बताउनुभयो ।
व्यास नगरपालिकाका लेखा अधिकृत हेमन्त गुरुङ, लेखा परिक्षक गोवर्धन खनाल, पत्रकारहरु शंकरराज नहर्की र पूर्ण विकेले तालिममा सहजिकरण गर्नुभएको थियो । आयव्ययको हिसाव राख्न, माईन्यूट, प्रस्तावना पत्र, प्रतिवेदन लेख्न, भरपाई, डोर हाजिरीफाराम र गोस्वारा भौचर भर्न तालिम प्रदान गरिएको हो । तालिमले आर्थिक अनुशासन कायम गर्न प्रभावकारी हुने आफूले ठानेको सेरा टोलविकास संस्थाका अध्यक्ष गोपाल घर्तीले जानकारी दिनुभयो ।
तस्विर समेत छ ।
व्यास नगरपालिका ११ नम्बर वडा कार्यालयकाको आयोजनामा संचालित लेखा व्यवस्थापन तालिममा सहभागी । उक्त वडामा रहेको ३५ टोल विकास संस्था र १५ वटा आमा समुहका प्रमुख तथा प्रतिनिधि गरी ५० जनाको तालिममा सहभागिता रहेको थियो ।








