मायाटार । चितवनको इच्छाकामना गाउँपालिकाले पहिलो पटक गाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले बिहिबार वडा नं. २ स्थित मायाटारमा गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो ।


कार्यक्रम वडा नम्बर २ स्थित आधारभुत विद्यालय मायाटारको सभाहलमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको थियो ।
कार्यक्रममा विकास निर्माणमा हुने ढिला सुस्ती उपभोक्ता मार्फत भएका योजनाहरुको भुक्तानीमा ढिलाई हुने, सम्झौता अनुसार बजेट उपलब्ध नहुने लगायतका समस्या बारे सहभागीहरुले प्रश्न गरेका थिए ।


साथै वडा नम्बर २ मा विद्युत विस्तारको काममा ठेकेदारले ढिला सुस्ती गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । पर्याप्त अनुमगन नहुदाँ विकास निर्माणको काम मापदण्ड विपरित हुने गरेको, फिस्लिङ–शक्तिखोर सडकको केही स्थानमा सडक स्तरोन्नती बाँकी रहदाँ बर्षायाममा समस्या भएको, वर्लेङ स्थित रिग्दीखोलाको पुल निर्माण अलपत्र हुदाँ आवतजावत गर्न समस्या भएको लगायतका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।
नागरिकहरुबाट आएको समस्याको सम्बोधन गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल, वडा नम्बर ३ का वडाध्यक्ष तथा प्रवक्ता नर बहादुर नेपाल, वडा नम्बर २ का वडाध्यक्ष पञ्च बहादुर चेपाङ, वडा वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचन , वडा नम्बर ७ का वडाध्यक्ष बम बहादुर थापा मगर लगायत गाउँपालिकाका विभिन्न सम्बन्धित शाखाका प्रमुखहरुले गरेका थिए ।


गाउँपालिकाभित्र रहेका सबै नागरिकले गुनासोहरु जनप्रतिनिधिलाई सार्वजनिक कार्यक्रममै राख्ने अवसर प्रदान गर्नका लागि पहिलो पटक वडा नम्बर २ मायाटारमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । कुरिनटार, मुग्लिनमा हुने सार्वजनिक सुनुवाईमा यहाँका जनताहरु उपस्थित हुन नसक्ने भएकाले यहाँको जनताको समस्या बुझ्न तथा सुझाव लिन सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो ।
जनताहरुको समस्या बुझ्न र समस्या समाधान गर्न तथा सुझावहरु लिनका लागि सबै वडामा आलोपालो गरि सार्वजनिक सुनुवाई कार्यक्रम गरिने अध्यक्ष गुरुङले बताए ।









