तनहुँ, २५ साउन
तनहुँमा ८ हजार ७ सय ३९ गाईबस्तुमा लम्पी स्किन संक्रमण देखिएको छ । जिल्लाका दशवटै पालिकामा लम्पी स्किनका कारण गाईबस्तुमा समस्या देखिएको हो । लम्पी स्किन देखिनेमा सबैभन्दा बढी भानु नगरपालिकामा रहेको छ । भानु नगरपालिकामा १ हजार ५ सय ६५ गाईबस्तु संक्रमित भएका छन् ।

बन्दीपुर गाएँपालिकामा एक हजार ५०, देवघाट गाउँपालिकामा १ हजार ४३, भिमाद नगरपालिकामा ९ सय १६, शुक्लागण्डकी नगरपालिकामा ८ सय २८,आँबुखैरेनी गाउपालिकामा ८ सय १७, घिरिङ गाउँपालिकामा ७ सय ४९, व्यास नगरपालिकामा ६ सय २१, ऋषिङ गाउँपालिकामा ५ सय ८२ र म्याग्दे गाएँपालिकामा ५ सय ६८ संक्रमण देखिएको भेटेररिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । त्यस्तै संक्रमण भएको मध्ये सबैभन्दा बढी गोरुमा ४ हजार ८ सय १५, गाईमा २ हजार ८ सय २, एक हजार ४५ बाच्छाबाच्छीमा र ७५ भैँसी र २ राँगोमा संक्रमण पुष्टि भएको केन्द्रको तथ्याङमा उल्लेख छ ।

त्यस्तै हालसम्म लम्पी स्किनका कारण २२४ गोरु, ७५ भैसी, २८ बाच्छाबाच्छी र ३ भैसी गरी ३ सय ३० गाईबस्तुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्र सिंह ठकुरीले जानकारी दिए । लम्की स्किन संक्रमित भइ ठिक भएका पशुको संख्या ३ हजार ३ सय ४१ रहेको उनको भनाई छ । अहिले पालिका स्तरबाट धमाधम खोपको कार्यक्रमलाई तिब्रता दिएपछि संक्रमण घट्ने क्रममा रहेको ठकुरीले बताए । गोरु र गाईमा बढी मात्रामा संक्रमण देखिएको छ भने भैसीमा कम देखिएको उनको भनाई छ ।









