नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा भन्नेसँग आफ्नो परिवारलाई जोडेर सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशन गरिएको भन्दै कानूनी कारबाहीमा जाने चेतावनी दिनुभएको छ ।
पोखरेलको बिज्ञप्ती जस्ताको तस्तै –
माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शत प्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु । माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो । म चुनौतीका साथ भन्न चाहन्छु – मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु । यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु ।








