नेकपा (एमाले) गण्डकीको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले सम्वोधन गर्ने

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । आइतबार पोखरामा सञ्चारकर्मी भेटघाट कार्यक्रमको आयोजना गरेर दिएको जानकारी अनुसार साेमबारबाट सुरु हुने अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट कुल ९ सय ७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनमा सबैभन्दा धेरैं प्रतिनिधि कास्की जिल्लाबाट रहनेछन् । कास्कीबाट कुल १ सय ४६ जना प्रतिनिधि सहभागी बन्दा स्याङजाबाट १ सय १३, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, मनाङबाट १४, मुस्ताङबाट १६, गोरखाबाट ५३, तनहुँबाट ८२, लमजुङबाट ६५, म्याग्दीबाट ४२, बागलुङबाट ७२ र जनसंगठनबाट ८६ प्रतिनिधिले सहभागीता जनाउने एमाले गण्डकी प्रदेश उपसचिव एवं प्रचार प्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्र भव्य बनाउन खोजिएको छ । पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन समारोहमा ५० हजार कार्यकर्ता तथा शुभचिन्तकको उपस्थिति हुने दावी एमाले गण्डकीले गरेको छ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सो कार्यक्रममा अध्यक्ष ओली सहित उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका शिर्ष नेताले सम्बोधन गर्ने तय भएको अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

अधिवेशनको उद्घाटन समारोह अगाडि सहभागीहरु पोखराको हस्पीटलचोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट बृहत झाकिसहितको र्‍याली मार्फत अम्मरसिंह चौरतर्फ प्रस्थान गर्नेछन् ।

अधिवेशनबाट नयाँ नेतृत्वसहितको कार्यसमिति निर्वाचित हुने भएकोले छनोट भएका प्रतिनिधि सहित कार्यकर्तामा रौनकता थपिएको छ । आगामी नेतृत्व कसको हातमा पुग्ला भन्नेमा विभिन्न अडकलबाजी हुन समेत थालेको छ । नेतृत्वको लागि आकांक्षा राख्नेहरु धेरैं भएपनि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबिच अन्तिम प्रतिष्पर्धा हुने आकलन गरिएको छ । दुवैजनाले आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दावी गरिरहेका छन् ।
अधिवेशन मार्फत १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । नेतृत्वमा मात्र नभएर पदाधिकारी र सदस्यमा आफ्नो पक्षमा माहोल बनाउन आकांक्षीहरुले थालेका छन् ।

प्रदेश गण्डकीका अध्यक्ष नवराज शर्माले विद्युतिय भोटिङ मेसिन मार्फत निर्वाचन गरिने भएकोले रिजल्ट आउन समय नलाग्ने  सञ्चारकर्मीसँग खुलाए ।  उनको यो भनाईबाट के बुझ्न सकिन्छ भने अधिवेशनमा निर्वाचन हुने लगभग पक्का भएको छ ।
‘१५ गते उद्घाटन सत्र र साँझ बन्द सत्र सुरु हुने, १६ गते प्रतिवेदनमाथी छलफल र निर्वाचन प्रक्रिया आरम्भ गरिने र १७ गते मतदान गरेर सोही दिन रिजल्ट सार्वजनिक गर्ने तयारी गरेका छौं’ शर्माले भने ।

एमाले सचिव एवं प्रदेश इञ्चार्ज गोर्कण विष्टले सहमतीको अन्तिम प्रयास बाँकीनै रहेको बताए । गण्डकीमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई देखाएर प्रतिनिधिलाई ध्रुवीकृत गर्न खोजिने गरिएपनि उनीहरुबिच कुनै अन्तरविरोध भएको आफूले नपाएको दावी गरें । दुवैनेतासँग बसेर आफुले लामो समय छलफल गरेको उनको भनाई थियो ।

‘मैले उहाँहरुसँग कुरा गर्दा कुनै अन्तरविरोध, नमिल्ने अवस्था देखेको छैन, उहाँहरुको बिचमा हार्दिकताकै अनुभव गरिरहेको छु, तर कहिलेकाँही उहाँहरुलाई ध्रुवीकृत गर्न खोज्ने र त्यसमाथि टेक्ने प्रयास हुन सक्छन्’ उनले आशंका गरें ।

इञ्चार्ज विष्टले प्रतिष्पर्धा गर्नको लागि कसैलाई नरोक्ने भएपनि प्यानल खडा गरेर जाने छुट भने नदिइने दोहोर्‍ याए । ‘सहमती हुन नसके निर्वाचन हुनेछ, अधिकतम सहमतीको प्रयास गर्नेछौ, प्रक्रिया सुरु भएपछि प्रक्रिया लामो बनाउनेछन्, प्यानल बनाएर चुनाव लड्ने अधिकार भने यो अधिवेशनले प्रदान गर्नेछैन’ उनले थपे ।

अधिवेशनको लागि बाहिरी जिल्लाबाट पोखरामा आउने प्रतिनिधिको आवासको लागि २१ वटा होटल बुक गरिएको र प्रतिनिधिहरु तोकिएका स्थानहरुमा नै रहनुपर्ने एमाले गण्डकीले जनाएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.