तनहुँमा डेंगी संक्रमितको संख्या तीन हजार नाघेको छ । जिल्लामा कुल ३ हजार १ सय १२ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संक्रमित मध्ये अधिकांश दमौलीका छन् । डेंगीका कुल संक्रमित मध्ये व्यास नगरपालिकाका मात्रै २ हजार ७ सय ६८ जना रहेको व्यास स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । डेंगी संक्रमितको दर भने विस्तारै घट्दो क्रममा रहेको छ उनले भने ।

व्यास नगरपालिका वडा नं. १,२,३ र ४ मा डेंगी संक्रमितको संख्या बढी रहेको छ । डेंगीका विरामी बढेपछि खोज र नष्ट गरौँ अभियान समेत दमौली एवं आसपासका क्षेत्रमा सञ्चालन गरिएको छ । त्यस्तै टोलटोलमा डेंगी रोग नियन्त्रणका लागि सचेतनामुलक घरदैलो अभियान गरिएको व्यास नगरपालिकाले जनाएको छ । दमौली अस्पतालमा डेंगी परिक्षण गरिएका विरामीहरुमध्ये ७० प्रतिशतमा संक्रमण पोजेटिभ देखिएको दमौली अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट परिवर्तन बरालले बताए ।

डेंगीको संक्रमण बढेपछि यसको रोकथामको लागि गण्डकी प्रदेशबाट आएको चिकित्सकहरुको टोलीले डेंगीका विरामीलाई परामर्श एवं चेकजाँच समेत गरेको थियो ।









