तनहुँका दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै दमौलीमा चक्काजाम गरेका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले दमौलीको भोर्लेटार चोकमा राजमार्ग अवरुद्ध गरेका छन् । मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनैतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध गर्नेपर्ने, दुग्ध उत्पादक कृषकलाई यस पेशामा जोगाइराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झैं यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राखी कृषकहरु आन्दोलनमा उत्रिएका हुन । कृषकहरुले नाराबाजी सहित दमौली बजारको परिक्रमा गरी भोर्लेटार चोकमा पुगेर राजमार्ग जाम समेत गरेका हुन् ।

कृषकको माग पूरा गर्न फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको भए पनि सरकारले सुनुवाइ नगरेकोले आन्दोलन गर्नुपरेको केन्द्रिय दुग्ध सहकारी संघ अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । आफुहरुले सरकारलाई सहयोग गरेपनि सरकारले किसानका समस्या नसुनेको उहाँको भनाई थियो । किसानलाई सरकारले पनि वेवास्ता गरेको केन्द्रिय अध्यक्ष कुँवरको भनाई छ ।

किसानको उत्पादनको बजारीकरण राज्यले गर्नुपर्ने भए पनि वास्ता नगरेकोले आन्दोलनमा उत्रिएको तनहुँ जिल्ला दुग्ध उत्पादक संघका सल्लाहकार एवं व्यास नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । किसानले चाहे देश नै ठप्प गर्न सक्ने भएपनि किसानलाई सरकारले नगनेको बताए ।
तनहुँ जिल्ला सहकारी संघ अध्यक्ष प्रदीपराज अधिकारीले कृषकको समस्या समाधान गर्नुपर्छ भनेर ऐक्यबद्धताका लागि आन्दोलनमा आएको बताए । सरकार दलालको चङ्गुलमा फसेर कृषक मर्कामा परेकाले आन्दोलन गर्नुपरेको अधिकारीको भनाई थियो ।

सरकारले किसानको मागमा कुनै सुनुवाई नगरेको कारण देशभरका किसानहरुले फागुन २१ गते काठमाण्डौँ माइतीघर मण्डलामा उपस्थिति भई अनिश्चितकालिन आन्दोलन गर्ने संघका केन्द्रिय अध्यक्ष कुँबरको भनाई छ ।








