जनक श्रेष्ठ, लमजुङ
लमजुङ दोर्दी गाउँपालिकाकोे वडा नं. ४ नौथर सेरामा राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा पालिका स्तरीय मावि विद्यालय विच आईतबारदेखि सुरु भएको हो ।

यस प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले खेलकुदको माध्यमबाट पालिकाको शिर ठानो गर्न सक्ने बताउनुभयो । पालिकास्थित फलेनीका तिर्थ तामाङले केही वर्ष अघि सर्ट फुटबल खेलमा लमजुङमा पहिलो र गण्डकी प्रदेशमा दोस्रो भएको स्मरण गराउँदै गाउँपालिका अध्यक्ष अधिकारीले त्यसरी नै गेमहरुमा भाग लिदै गयौँ भने हामी अहिले जिल्ला प्रदेश मात्र नभई राष्ट्रिय स्तर हुँदै अन्तराष्ट्रियमा प्रख्यात हुन सक्ने बताउनुभयो ।

अहिले विभिन्न रोगहरुले मासिनहरुलाई समस्या भनाई रहेको र खेलकुद विना स्वास्थ्य रहन नसक्ने भएकाले खेलकुद स्वास्थ्यका लागि समेत महत्वपूर्ण हुनेछ । हाम्रो पालिका र देश नै विभिन्न कला संस्कृतिले भरिभराउ रहेकाले आगामी दिनमा पनि यस्ता संस्कृति बचाउन विद्यार्थीहरुदेखि सबै लाग्नुपर्ने उहाँले भन्नुभयो । त्यस्तै, पालिकाका सरकारी विद्यालयमा विद्यार्थीहरु र शैक्षिक गुणस्तरमा कमी हुँदै गएकाले विद्यार्थीको संंख्या बढाउन र गुणस्तरीय शिक्षा उपलब्ध गराउन पालिकाका विज्ञहरुसँग बसेर समाधान खोज्नेतर्फ लाग्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

सो प्रतियोगितामा पालिकाका कार्यपालिका सदस्य लालमाया मिजार, विद्यालय निरिक्षक शिक्षक काशीनाथ अधिकारी, शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेले मन्तव्य राखेका थिए । पालिकाको सामाजिक विकास समितिका संयोजक अम्बिका मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पालिकाका रोजगार संयोजक धर्मराज गुरुङले गर्नुभएको थियो । सो प्रतियोगिताको अवसरमा फलेनी माध्यमिक विद्यालयका विद्यार्थीहरुद्धारा विभिन्न साँस्कृति नृत्य प्रस्तुत गरेका थिए ।

पालिकामा भएका ८ वटा माध्यमिक विद्यालय बिच प्रतियोगिताको पहिलो खेल भलिबल खेल संञ्चालन गरिएको छ । छात्र÷छत्रा गरी एक विद्यालयबाट दुई टिमको सहभागिता रहेको छ । आज भएको पहिलो प्रतियोगितामा छात्राहरुमा चैतन्योदय सत्य माध्यमिक विद्यालय, सुर्योदय माध्यमिक

विद्यालय, लक्ष्मीनारायण माध्यमिक विद्यालय र फलेनी माध्यमिक विद्यालय सेमि फाइनालमा प्रवेश गरेको छ । छात्रहरुमा लक्ष्मी माध्यमिक विद्यालय र फलेनी माध्यविक विद्यालय फाईनलमा प्रवेश गरेको छ । तीन दिनसम्म संञ्चालन हुने यस प्रतियोगितामा महिला तथा पुरुष भलिबलको साथै एथ्लेटिक्सतर्फ छात्र, छात्राहरुको खेल, फिल्डतर्फ उफ्रने र फ्याक्नेमा छात्रतर्फ हाइजम्प, लडजम्प, ज्याभलिङ थ्रो ८०० ग्रायम, सुटपुट १२ पाउन्ट हुने भएको छ । त्यस्तै, छात्रातर्फ हाइजम्प, लडजम्प ज्याभलिङ थ्रो ६०० ग्रायम, सटपुट ८ पाउन्ट हुने भएको छ । यस प्रतियोगितामा प्रथम हुनेहरुलाई जिल्लामा हुन लागेको राष्ट्रपति कपमा सहभागि गराउने गाउँपालिकाले जनाएको छ ।


















