दोर्दीबाटै श्रम स्वीकृति सुरु

जनक श्रेष्ठ

यहाँ दोर्दी गाउँपालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएसँगै आजदेखि दोर्दीबाट पनि उक्त प्रक्रिया सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा प्राप्त हुने व्यवस्था छ । मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँमा र पोखरा गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यसअघि अन्यत्रै गएर यस सेवा लिनुपर्दा समयदेखि लागत बढी पथ्र्यो, त्यति मात्र नभई विभिन्न झन्झन्ट समेत हुने गर्दथ्र्यो, अहिले पालिकाबाटै यस सेवा सुरु भएसँगै पालिकाका युवायुवती लाभान्वित हुने भएको रोजगार संयोजक गुरुङको भनाई छ । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने बताइएको छ । सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने गरेको पालिकाले जनाएको छ ।

सरकारले वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको थियो । वैशाख १÷२ गते सार्वजनिक बिदा परेकाले ३ गतेबाट स्थानीय पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदनको सेवा सकिने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही महिना अघि मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय थियो ।

श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिदाँ सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्सेर गुरुङले बताउनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.