एमाले अध्यक्ष केपी ओलीद्वारा भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निरीक्षण, कामलाई गति दिन आग्रह

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्ष अघि नै टनेल निर्माणको काम भएको भए पनि भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताउनुभएको छ । आफ्नो पालामा टनेलको ब्रेक थ्रु गरिएको भए पनि अहिले आएर कामले गति लिन नसकेको ओलीले बताउनुभयो । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहनुभएका ओलीले मंगलबार बिहान आयोजनाको निरीक्षण गर्दै कामलाई गति दिनु पर्ने बताउनुभयो । ‘यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् भन्न चाहन्छु’, ओलीले भन्नुभयो । ढिलो चाँडो जे भए पनि आयोजनाको काम सम्पन्न हुनेमा भने उहाँले विश्वास व्यक्त गर्नुभयो । काम छिटो हुँदा किसानले छिटो लाभ लिन पाउने उहाँले बताउनुभयो ।

ओलीले निर्माणको काममा खट्ने कर्मचारीहरूलाई भने धन्यवाद दिनुभयो । निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न पनि ओलीले आग्रह गर्नुभयो । सो आयोजना प्रकृतिसँगको कारोबार भएकोले सानो लापरबाहीले पनि ठुलो क्षति हुने भएको बताउँदै कामको गुणस्तरमा सम्झौता गर्न नहुने ओलीको धारणा छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते मंगलबार ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो । सो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ ।

आयोजनाबाट ४६.८ मेगावाट विद्युत् समेत उत्पादन हुने छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पुर्‍याउने सो आयोजनाको लक्ष रहेको छ । सो आयोजनाको सुरुङको लम्बाइ १२ हजार मिटर रहेको छ । आयोजना स्थलमा अध्यक्ष ओलीसँगै नेकपा एमालेका केन्द्रीय पदाधिकारी तथा नेताहरू पुग्नु भएको थियो । उहाँहरूले निर्माणमा भएको प्रगतिको बारेमा पनि जानकारी लिनुभएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.