दमौलीमा व्यास नगरपालिका ३ खुला मैदानमा तीन दिवसिय महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवद्र्धन मेला सुरु भएको छ । महिला उद्यमी संघ नेपाल तनहुँको आयोजनामा ११४ औँ अन्तराष्ट्रिय नारी दिवस एवं महाशिवरात्री पर्वको अवसर पारेर मेला आयोजना गरिएको हो ।

मेलाको उद्घाटन गर्दे गण्डकी प्रदेश प्रदेश सांसद अशोक कुमार श्रेष्ठले स्थानीय उत्पादनलाई जोड दिएको खण्डमा आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रेका श्रेष्ठले स्थानीय स्तरमा उत्पादन भएका बस्तुलाई ब्राण्डिङ्ग गर्न सकेको खण्डमा रोजगारी सिर्जना संगै महिला दिदिबहिनीले आम्दानी बढाउन समेत सकिने बताए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले महिला उद्यमप्ी संघले रचनात्मक कार्यक्रम ल्याएको कारण नगरपालिकाले सहयोग गरेको बताए । महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश निवर्तमान सांसद सरिता गुरुङ, म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष मायादेवी राना, जिल्ला समन्वय समिति तनहुँकी पूर्व उपप्रमुख पवित्रा पौडेल, महिला उद्यमी महासंघ केन्द्रिय सदस्य पार्वती रेग्मी, व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कडेल, नेकपा माओवादी केन्द्र तनहुँका अध्यक्ष ओमराज आले मदन लगायतले यस्ता कार्यक्रमले महिलालाई उद्यमशिल बनाउन सहयोग पुग्ने बताए ।

फागुन २७ गतेसम्म चल्ने मेलामा जिल्लाका विभिन्न उद्यमीले सिप प्रदर्शन एवं प्रवद्र्धन गर्ने बताइएको छ । मेलामा भुजीयारी, चुरा, पोते, बाटेको धुप, गुन्द्री, टोप, झोला सहित खाना परिकार बिक्रीका लागि राखिएको छ ।मेलामा करिव २० बढी स्टल रहेका छन् । स्टलमा गाउँका स्थानीय कृषि उत्पादन, खानाका विभिन्न परिकार लगायतका महिलाहरुद्धारा उत्पादिन सामाग्री बिक्रीका लागि राखिएको छ । कार्यक्रम सुरु हुनुपूर्व झाँकी सहितको ¥यालीले दमौली बजारको परिक्रमा समेत गरेको थियो । मेला आइतवारसम्म चल्नेछ ।











