म्याग्दे गाँउपालिका तनहुँले विकास निर्माण, आर्थिक तथा सामाजिक विकास एवं सेवा प्रवाहका सम्वन्धमा गरेका समग्र कामहरुको सन्र्दभमा आर्थिक वर्ष २०८१।०८२ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम वडा नं ५ को वडा कार्यलयमा सम्पन्न भएको हो ।

गाँउपालिकाले आफनो कार्यलयले वर्षभरिमा संचालन गरेको गतिविधिको प्रभावकारिताके लागि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्नु पर्ने राज्यले व्यवस्था गरे अनुसार स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ वमोजिम कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

सो कार्यक्रममा पालिकाका विषयगत प्रमुखहरुले आफुले गरेका कामका वारेमा सहभागिहरुलाई जानकारी दिएका थिए । सो अवसरमा सहभागीहरुले विकास निर्माण र जनताका जीवनस्तरका वारेमा धारणा राखेका थिए । जनताले अझै पनि सडक वाटो र यातायातको व्यवस्था नभएको, कृषिमा अनुदान नभएको, फोहरमैलाको गाडी नआएको, विकास निर्माणमा विभेद भएको, विकास एकपक्षिय भएको, कृषिमा कृषकले आवश्यक सहयोग नभएको, स्वास्थ्यमा पहुँच नपाएको विषयमा धारणा राखेका थिए ।

सेवाग्राहीको जिज्ञासा तथा प्रश्नमा गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सिमित श्रोत र साधनका वीचमा पनि गाँउपालिकाले जनमुखी काम गरेको वताए । स्थानीय स्तरको आम्दानीको श्रोत घट्नु तथा संघ र प्रदेशवाट आउने वजेटमा पनि कटौती हुदाँ निती तथा कार्यक्रममा समावेश गरिएको विभिन्न कार्यक्रमहरु समेत कटौती गर्नुपरेको वताए । जनताको चाहना असिमित रहने, तर पालिकाको आम्दानी सिमित रहँदा जनताको सवै माग पुरा गर्न सकिएन, यद्यापी समाजिक सुरक्षा कोषको व्यवस्था, कृषकलाई अनुदान, दुधमा अनुदान, गाँउपालिकाका सभाहल, कोल्डस्टोर, कृषि एम्वुलेन्स, विपन्नलाई घर निर्माण, फोहर मैला व्यवस्थापन लगायत धेरै जनपक्षिय काम गरेको हुदाँ आम जनताको साथ र सहयोगले पालिकालाई समृद्ध वनाउन सकिने धारणा व्यक्त गरे ।

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले संघ तथा प्रदेशवाट आउने वजेटमा व्यापक कटौती हुदाँ विकास निर्माणमा ढिलो भएको वताए । जनताको आधारभुत, सडक, स्वास्थ्यमा आवश्यकताको आधारमा काम गरिएको हुदाँ पालिकाले जनताको आधारभुत आवश्यकता पुरा गर्न लागिपरेको वताए ।

कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष शिव वहादुर आले, म्याग्दे ४ का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले लगायतले विकास निर्माण र जनताको आवश्यकताका विषयमा धारणा राखेका थिए । सो कार्यक्रमको सहजीकरण विवि मिडिया प्रा.लि.ले गरेको थियो ।

