व्यास नगरपालिकाको सहयोगमा तनहुँका पत्रकारको स्वास्थ्य बीमा

दमौली।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले जिल्लाका पत्रकारको स्वास्थ्य बीमा गराएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा शाखाले जिल्लास्थित ३४ जना पत्रकारको स्वास्थ्य बीमा गराएको हो । त्यसमध्ये १८ जनाको नयाँ दर्ता गरिएको छ भने १६ जनाको नवीकरण गरिएको शाखाले जनाएको छ । शाखाले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकारहरुलाई बीमा कार्ड हस्तान्तरण गर्दै पत्रकार महासङ्घको संस्थागत विकास र पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि नगरपालिका सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख न्यौपानेले कानुनी शासनमा खबरदारी गर्ने प्रमुख जिम्मेवारी पत्रकारहरुको रहेको बताउँदै समाजलाई सही मार्ग देखाउने काममा लाग्न आग्रह गर्नुभयो । जहाँ सुशासन र विधिको शासन हुन्छ त्यहाँ त्यही ढङ्गबाट स्वतन्त्र प्रेसको विकास हुन सक्ने बताउँदै न्यौपानेले भन्नुभयो, “हामीले गरेका राम्रा कामको प्रचारप्रसार गर्दै गलत गरे सुधार्न कलम चलाउनुहोस् ।” स्वतन्त्र, निष्पक्ष भएर कलम चलाउन आग्रह गर्दै न्यौपानेले जिल्लामा सञ्चारमाध्यममा आएको प्रगति सकारात्मक रहेको र यसमा चुनौति पनि थपिएको बताउनुभयो । यहाँका सञ्चारमाध्यमलाई नगरपालिकाले विगत वर्षदेखि नै लोककल्याणकारी रुपमा विज्ञापन उपलब्ध गराउँदै आएको, पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने पत्रकारलाई आर्थिक सहयोग गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्लेले यहाँका सञ्चारमाध्यमको प्रबद्र्धनमा व्यास नगरपालिकाको महत्वपूर्ण सहयोग रहँदै आएको उल्लेख गर्नुभयो । शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेलले पत्रकार महासङ्घको भवन निर्माणदेखि पत्रकारिता क्षेत्रमा नगरपालिकाले पु¥याएको योगदानलाई सम्झिँदै नगरपालिकाका हरेक गतिविधिलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्यले नगरपालिकाले पत्रकार महासङ्घ र पत्रकारलाई गरेको सहयोग अनुरुप पत्रकारहरुले पनि नगरपालिकाका गतिविधिलाई उच्च प्राथमिकतामा राखेर प्रकाशन गर्नुपर्ने बताउनुभयो ।

शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश कमिटी सचिव एसवि नेपाली, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँ, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायतले स्वास्थ्य बीमा कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । महासङ्घको वर्तमान कार्यसमितिको पुस ११ गते बसेको पहिलो बैठकले जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य बीमामा समेट्ने निर्णय गरेको थियो । सोही बमोजिम ३४ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.