पोखरा ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी प्रशासनको संक्रमणकाल चाँडै अन्त्य हुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा शनिबार जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा रहेको संक्रमण काल अन्त्य हुने बताउनुभयो । कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न आफु लागि परेको भन्दै मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा देखिएका धेरै समस्या हल हुने बताउनुभयो । निजामती कर्मचारीहरुको न्यायिक व्यवस्थापन गर्ने बारेमा आफु प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

संघीय निजामती ऐन प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा टेवल भएको भन्दै राष्ट्रिय सभामा दफावार छलफल पछि समितिले टुंगो लगाएर पुनः प्रतिनिधि सभामा पठाउने र चालु संसद अधिवेशनबाट संघीय निजामती ऐन जारी हुने मन्त्री न्यौपानेले बताउनुभयो । संघीय निजामती ऐन जारी भएपछि कर्मचारीहरुले उठाएका धेरै विषय सम्बोधन हुने मन्त्री न्यौपानेले दाबी गर्नुभयो । मन्त्री न्यौपानेले भन्नुभयो ‘तिनै तहका कर्मचारीको समस्या समाधान गरि कर्मचारीलाई उत्पाहपुर्वक काममा लाग्ने बातावरण बनाउन लागि परेको छु ।’ कर्मचारीको मात्र नभई अहिले जनताको समस्याको पनि निकै ठुलो रहेको भन्दै कर्मचारीहरुले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने उहाँको भनाई थियो । ‘भनसुनको आधारमा भन्दा कानुनको परिधि र सिष्टममा आधारित भएर सेवा दिनुहोस्’ मन्त्री न्यौपानेले भनिन् ‘जनताको काममा कुनै पनि बाहानामा ढिलासुस्ती र अलमल हुनु हुँदैन ।’ जनातामा दुई चार पैसा खर्च नगरिकन र भनसुन र पावर नलगाइकन मेरो काम बन्दै भन्ने मानसिकता रहेको भन्दै उहाँले त्यो मानसिकतालाई तोड्नुपर्ने बताउनुभयो ।

जनताको विश्वास जितेर कर्मचारीहरुले कार्यसम्पादन गर्नुपर्ने भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था पनि हुने बताउनुभयो । मन्त्री न्यौपानेलाई कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको सेवा प्रवाह र कास्की जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उक्त अवसरमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले संघीय निजामती ऐन जारी नहुँदा कार्यालयका कर्मचारीहरुमा काम गर्ने वातावरण नभएको बताउनु भएको थियो ।
मन्त्री न्यौपानेलाई पोखरामा सम्मान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई पोखरामा सम्मान गरिएको छ । नेकपा एमाले गन्डकी प्रदेश कमिटिको शनिबार पोखरामा बसेको बैठकमा कमिटिका अध्यक्ष नवराज शर्माले मन्त्री न्यौपानेलाई सम्मान गरेका थिए । गन्डकी प्रदेशको प्रतिनिधित्व गर्दै न्यौपाने मन्त्री नियुक्त हुनुभएकोमा बैठकले सम्मान गरेको हो । उक्त अवसरमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटि सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, स्थायी कमिटि सदस्य खगराज अधिकारी, प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा लगायतले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।