किशोरी सशक्तीकरणका लागि रोटरी क्लब अफ दमौलीद्वारा तीन दिने ‘ग्लो क्याम्प’ सुरु

रोटरी क्लब अफ दमौलीको आयोजनामा शुक्रबारदेखि तीन दिने ‘ग्लो क्याम्प’ सुरु भएको छ। किशोरीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र स्वास्थ्यप्रतिको सचेतना विकास गर्ने उद्देश्यका साथ तीन दिने ‘ग्लो क्याम्प (Glow: Goals Leading Our World)’ आयोजना गरिएको हो।

क्याम्पमा व्यास नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत १३ देखि १७ वर्ष उमेर समूहका किशोरी विद्यार्थीहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले किशोरीहरूमा आउने शारीरिक परिवर्तनसँगै देखा पर्ने मानसिक चुनौतीबारे उचित ज्ञान हस्तान्तरण गर्न आवश्यक रहेको बताए । वृद्धि र विकासका क्रममा हुने परिवर्तनले कहिलेकाहीँ नकारात्मक मार्गमा डोर्‍याउन सक्ने जोखिम पनि रहन सक्ने बताउँदै उनले सो सम्बन्धमा शिक्षक, अभिभावक वा अघिल्लो पुस्ताको मार्गदर्शन महत्त्वपूर्ण हुने धारणा राखे। साथै, यस्ता कार्यक्रमले किशोरीहरूलाई समाजमा रहेका विकृतिबारे सचेत रहँदै त्यसबाट उत्पन्न समस्या र समाधान खोज्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा जोन २० का असिस्टेन्ट गभर्नर दामोदर भण्डारीले कार्यक्रमले छात्राहरूको सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। किशोरीहरूलाई आत्मविश्वास, जीवन उपयोगी सीप हस्तान्तरण र स्वास्थ्यबारे सचेतना विकास गराउन कार्यक्रम सफल हुने उनले विश्वास व्यक्त गरे ।

त्यसैगरी, पूर्व अध्यक्ष महेन्द्र न्यौपानेले बालिकाहरूको भविष्य उज्ज्वल बनाउन आवश्यक पर्ने क्षमता, नेतृत्व, आत्मरक्षा, स्वास्थ्य र मानसिक सशक्तीकरण जस्ता सीपहरू प्रदान गरिने भएकाले यसको अधिकतम लाभ उठाउन सहभागी विद्यार्थीहरूलाई अनुरोध गरे ।

क्याम्पमार्फत किशोरीहरूलाई व्यवहारिक जीवनमा सशक्त र आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य राखी कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष वीणा कैनीले जानकारी दिइन् ।

तीन दिनसम्म चल्ने यो क्याम्पमा विभिन्न विषयमा प्रशिक्षण र अन्तरक्रियात्मक सत्रहरू सञ्चालन हुनेछन्। कार्यक्रममा महिनावारी स्वच्छता र स्वास्थ्य, सन्तुलित आहार र स्वस्थ जीवनशैली, आत्मविश्वास अभिवृद्धि, आत्मरक्षा, जुम्बा फिटनेस र सक्षम तथा सबल जीवनयापनका लागि आवश्यक व्यवहारिक उपायहरूबारे प्रशिक्षण दिइनेछ।

क्लबकी अध्यक्ष कैनीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट नारायण मल्लले स्वागत मन्तव्य राखेका थिए भने  सचिव सुवास गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा व्यास नगरपालिकाका १० वटा विद्यालयका एक सय १० जना भन्दा बढी किशोरीहरूको सहभागिता रहेको छ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.