गलत समाचारले हाम्रो ध्यानाकर्षण भएको छ । प्रदिपराज अधिकारी, सचिव, नेकपा (एमाले) तनहुँ

नेकपा (एमाले) तनहुँका सचिव प्रदिपराज अधिकारीले पार्टीको ११ औ राष्ट्रिय महाधिवेशनको प्रतिनिधी चयनका सन्र्दभमा गलत समाचार प्रवाह भएको वताएका छन् ।

नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिरको २७ देखि २९ सम्म काठमाडौँमा हुन गइरहेको छ। महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न मक्सिर १३ गते देशैभर सबै जिल्लामा एकै दिनको मिति निर्धारण गरिएको थियो। सोही निर्धारित दिनमा देशभर प्रतिनिधिहरू सर्वसम्मत वा निर्वाचन जस्तो लोकतान्त्रिक विधिको माध्यमबाट छनोट भएका थिए। यसै सन्दर्भमा तनहुँ जिल्ला क्षेत्र नम्बर २ मा सर्वसम्मत ढङ्गबाट प्रतिनिधि छनोट भएको थियो भने क्षेत्र नम्बर १ मा निर्वाचन प्रक्रिया मार्फत प्रतिनिधि छनोट गर्ने प्रक्रिया अगाडि बढाइएको थियो।

क्षेत्र नम्बर १ का सबै पालिकाबाट मतपेटीका जिल्ला पार्टी कार्यालयमा संकलन भए पश्चात् मतगणना कार्य प्रारम्भ भएको थियो। मतगणनाकै क्रममा केही विवाद सिर्जना भयो र मतगणना कार्य स्थगित हुन पुगेको कुरा सार्वजनिक भइ नै सकेको छ। मतगणना कार्य स्थगित भइसके पछाडि नेकपा एमालेका नेता र पार्टीलाई बदनाम गराउने गरी जुन ढंगले समाचारहरू सम्प्रेषण भएका छन् , पार्टीकै कार्यकर्ताहरूबाट जसरी सामाजिक सञ्जालमा आफ्ना मतहरू प्रकट गर्नुभएको छ ।

यसले वास्तवमा मतगणना कार्य स्थगित हुनका पछाडि के भएको थियो भन्ने बुझाईलाई अझ दिगभ्रमित बनाइएको छ। वास्तविकतामा भ्रम सिर्जना गर्ने कोसिस गरिएको छ। नेकपा एमाले र त्यसको नेतृत्वलाई एमाले इतरका शक्तिहरूले अराजनीतिक तर्कबाट पार्टीलाई कमजोर बनाउन चौतर्फी रुपबाट हमला गर्ने काम भइरहेको बेला एमालेकै कार्यकर्ताबाट सत्य तथ्यलाई बङ्ग्याई भ्रमसिर्जना गर्नु किमार्थ उचित हुन सक्दैन।

१३ गते बेलुका मतगणनाका बेला भएको विवाद पश्चात त्यसलाई कसरी निरूपण गर्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो। नेतृत्वले उम्मेदवारहरूसँग विभिन्न विषयमा छलफल चलाएको थियो। यसरी चलाएको छलफलमा खासगरीकन बन्दीपुर मतदान केन्द्रमा पुन मतदान गर्ने वा बन्दीपुरको मतगणना जति भयो त्यसलाई मान्यता दिई व्यास नगर कमिटी अन्तर्गत भएको मतदान को मतपत्र गणना गर्ने र शोको आधारमा नतिजा सार्वजनिक गर्ने वा तनहुँ जिल्लाका केन्द्रीय नेता हरूलाई सर्वसम्मतिको पहलको अधिकार दिने, सर्वसम्मतिको लागि उम्मेदवार दिएका कमरेडहरूभन्दा बाहिरबाट पनि छनोट गर्न सकिने जस्ता विषयहरु थिए।

यी सबै विकल्पहरूमध्ये सर्वसम्मतिको विकल्पमा जाने भन्ने कुरामा सबै उम्मेदवारहरू सहमत भएका र सबै उम्मेदवारले सहमतिका लागि लिखित हस्ताक्षर गरेका थिए। सोही अनुसार तनहुँ क्षेत्र नम्बर १ बाट सर्वसम्मत रुपमा नेतृत्व तहले महाधिवेशन का लागि प्रतिनिधिहरूको छनोट गरेको छ। जो साथी महाधिवेशन प्रतिनिधिको छनोटमा पर्नुभयो उहाँहरूलाई हार्दिक बधाई छ। साथै सहमतिका लागि समर्थन गर्ने सम्पूर्ण उम्मेदवार कमरेडहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

मतगणना कार्य हुँदैगर्दा र मतगणना स्थगित भए पछाडि भए गरेका अनुचित क्रियाकलापहरूका बारेमा जे जे भएका थिए त्यसको सत्यतथ्य छानबिन गरी दोषी देखिएकाहरूलाई दोषको आधारमा कारबाही गर्नु त छँदै छ। सत्य तथ्यभन्दा बाहिर गई अफवाह सिर्जना गर्ने र आम कार्यकर्ता लाई निराश पार्ने ढङ्गका जुन हर्कत भएका छन् यसका बारेमा पनि व्यापक समीक्षा गर्न जरुरी छ र त्यस विषयमा छलफल हुने नै छ। तसर्थ आम कार्यकर्ता र पार्टी सदस्यहरूलाई आवेशमा आई नेता, नेतृत्व र पार्टी प्रति अनावश्यक आरोप र लान्छना लगाउने काम सामाजिक सञ्जाल मार्फत नगरौं । पार्टीको छलफल सञ्चालन गर्ने आफ्नै विधि र परम्परा छ। त्यही विधि र परम्परालाई अवलम्बन गरौं। यसो हुँदा मात्रै नेतृत्वलाई सम्मान दिन सकिन्छ। पार्टीलाई बचाउन सकिन्छ र पार्टीका ध्यए, उद्देश्यहरू पूरा गर्न सकिन्छ।

पार्टी कार्यालयमा राखिएका मतपत्रहरू साट फेर गर्न खोजियो, फर्जी मत राख्न खोजियो भन्ने जस्ता गलत समाचार सम्प्रेषणले हामी सबैको ध्यान आकृष्ट भएको छ। यस्तो हुँदै नभएको कुप्रचार किन गरिन्छ ? कसले गर्छ ? यो चिन्ताको विषय भएको छ। केही साथीहरुले व्यास को मतै नगनिकन किन घोषणा गरियो भन्ने प्रश्न पनि उठाउनुभएको छ। उम्मेदवार कमरेडहरूको सर्वसम्मत सहमतिका आधारमा निर्वाचन प्रक्रियाबाट बाहिरिएर सहमतिको प्रयत्न गर्नका लागि नेताहरू लाई अनुरोध गरेका कारण हामी पहिलो चरण को प्रक्रिया भन्दा बाहिर प्रवेश गरेका छौं। सोही प्रक्रियाबाट अगाडि बढेको कारण मतगणनाको कुरा गर्नु उचित र जायज छैन। तसर्थ आम पार्टी सदस्यहरू स्पष्ट हुन जरुरी छ कि उम्मेदवार प्रतिनिधिहरू को सर्वसम्मत सहमति र नेतृत्व तहको सर्वसम्मत छनोट विधि मार्फत यो निर्णय हुन पुगेको छ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.