तनहुँ १ फागुन
आदिकवि –छाब्दी बाराही मिनि म्याराथन २०८० को उपाधी साजन थापाले हात पारेका छन् । आदिकवि भानुभक्त क्याम्पस एवं छाव्दी बाराही विकास कोषको आयोजनामा मंगलवार भएको मिनि म्याराथनमा निर्धारित ६ किलोमिटर दुरी २१ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा प्रथम बनेका हुन् ।

आदिकवि भानुभक्त क्याम्पसको खेल सप्ताहको अवसरमा “स्वास्थ्यदेखी आस्थासम्म क्याम्पसदेखी मन्दिरसम्म” भन्ने नाराका साथ आयोजित उक्त प्रतियोगितामा अमृत विक द्वितीय र नरबहादुर गुरुङ तृतीय भएका थिए । द्धितीय विकले निर्धारित दुरी २२ मिनेट ३५ सेकेण्डमा पार गरे भने तृतीय गुरुङले २४ मिनेट ६ सेकेण्डमा पार गरेको थिए । उक्त प्रतियोगितामा सहआयोजक बाराही रजवाम युवा क्लव रहेको थियो । उक्त म्याराथन प्रतियोगितामा २६ शैक्षिक संस्थाका छात्र र छात्रा गरी २ सय जना धावक सहभागीता रहेको आदिकवि भानुभक्त क्याम्पसले जनाएको छ । प्रतियोगितामा बिजयी प्रथम, द्धितीय र तृतीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । म्याराथनमा सहभागी बालधावक कृतिक घर्तिलाई समेत सम्मान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

सो प्रतियोगिताको गन्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गरेका थिए । उनले अध्ययन संगै अतिरिक्त क्रियाकलापलाई पनि समय संगै अगाडी बढाउनुपर्ने बताए । पढाई संगै खेलकुद क्षेत्रमा समेत क्याम्पसले गरेको काम प्रसंशनिय रहेको मन्त्री आलेले बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम क्याम्पस प्रमुख महाप्रसाद हडखलेले खेलकुदका माध्यमबाट अन्य विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई जोड्नुका साथै छाव्दी बराही मन्दिर क्षेत्रको प्रचारप्रसारको लागि मिनि म्याराथनको आयोजना गरिएको बताए ।











