ओझेलमा परेको तनहुँसुरलाई जगाउने प्रयास, खड्ग कालिका मन्दिरको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

बाइसे चौविसे राज्यको समयमा शक्तिशाली राज्यको रुपमा रहेको तनहुँसुर पछिल्ला समय ओझेलमा परेको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार एवं संरक्षणको अभावमा तनहुँसुर ओझेलमा परेको हो । व्यास नगरपालिका वडा नं. ११ मा पर्ने तनहुँसुर , ऐतिहासिक, प्राकृतिक, भौगोलिक, सांस्कृतिक पर्यटनको सम्भावना बोकेको यो क्षेत्र प्रचारप्रसार, संरक्षणको अभावमा ओझेलमा परेको हो । तनहुँ जिल्लाको नाम समेत तनहुँसुरबाट अप्रभंश भएर रहेको किंवदन्ती रहेको सामाजिक अभियान्ता धुवराज पण्डितले बताए । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले २३० वर्ष राज्य सञ्चालन गरेको इतिहास रहेको छ । बाईसे चौँबिसे राज्यको समयमा तनहुँसुर शक्तिशाली राज्यको रूपमा स्थापित रहेको थियो ।

विसं २०२५ साल अगाडि नै केही संख्यामा त्यहाँका नेवार समुदाय विकास र व्यापार गर्ने उदेश्यले डुम्रे, भरतपुर, पोखरा, काठमाडौं लगायतका स्थानमा बसाइँसरेको पण्डित बताउछन् । २०२५ सालमा तनहुँको सदरमुकाम बन्दिपुरबाट दमौली सारिएपछि तनहुँसुरका नेवार समुदाय व्यापार गर्न दमौली झरेपछि तनहुँसुर नेवार बस्ती रित्तिन पुग्यो ।

पृथ्वीराजमार्गस्थित घाँसीकुवाबाट १५ किलोमिटरको दूरीमा अवस्थित तनहुँसुरमा सेनवंशी राजाको दरवारको अवशेष, सो समयका हतियार, राजाले न्याय निसाफ गर्ने गद्दीचौतारो, खड्गकालिका मन्दिर, रानीले नुहाउने इनार, टुँडिखेल, धान गोदाम, राजाको समयको तोप, सहिद पार्क, सिलिङे फूलको रूख, पारिजातको बगैंचा, सल्लोका रूखहरू, सुन्तला बगैंचा देख्न सकिन्छ ।

तनहुँसुरबाट दजनौँ हिमशृङ्खला, महाभारत पर्वतश्रृङ्खला, समथर फाँटहरू कलेस्ती, दमौली, पोखरा ,गोर्खाकालिका मन्दिर, तराईका समथर भुभाग त्यस्तै छिमेकी जिल्ला गोरखा, कास्की, चितवन, नवलपरासी लगायतका विभिन्न जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिने सम्पदा नेपालका अध्यक्ष एवं पर्यटनबिद्ध हरिसिंह गुरुङ बताउछन् । तनहुँको मात्रै नभई नेपालकै उत्कृष्ट गन्तव्यको रुपमा रहेको तनहुँसुरलाई प्रवद्र्धनको लागि व्यास नगरपालिका सहित सम्पदा नेपालले समेत कार्यक्रम गर्दै आएको उनले बताए । ‘तनहुँसुर केवल भौगोलिक स्थानमात्रै नभएर ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले समेत भरिपूर्ण स्थल हो,’ उनले भने ।

पर्यटकीय सम्भावना बोकेको यस ठाउँको विकासका लागि व्यास नगरपालिका र संघ सरकारले केही प्रयास गरेपनि त्यो प्रयाप्त देखिएको छैन् । तनहुँसुर जाने खड्गकाली मोटरमार्गको बेल्टारी देखि ७ किलोमिटर भगवतीपानी सम्म सडक कालोपत्र भईसकेको छ । सघीय सरकारको पाँच करोड र व्यास नगरपालिकाको पाँच करोड गरी १० करोड लागतमा सडक कालोपत्रको भएको हो । अब व्यास–११ कै भगवतीपानी देखी तनहुँसुर सम्म ३ किलोमिटर पिच गर्न बाँकी छ । सडक निर्माणको काम भईरहेको छ ।

तनहुँसुरमा व्यास नगरपालिकाले ३५ लाखको लागतमा शहीद पार्क निर्माण गरेको छ । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका ४ जना र बसन्तपुर र पुलिमराङका १÷१ जना गरि ६ जना ले शाहदत हासिल गरेका सम्झनामा शालिक उक्त शहिद पार्कमा राखिएको छ ।

पुरातत्व विभागले खड्क कालिका मन्दिर पुन निर्माण गरेको छ विभागले तनहुँसुर दरबारको उत्खनन् समेत गरेको छ । तनहुँसूरको महत्व बुझेर यस क्षेत्रको मुहार फेरिने गरी विकास निर्माणका कार्य तथा प्रचारप्रसारका गतिविधिलाई तीव्ररूपमा अघि सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको व्यास ११ का वडाध्यक्ष दलबहादुर दुराले बताए ।

तनहुँसुर सम्म नै कालोपत्र सडक छिटोभन्दा छिटो पु¥याउन आवश्यक रहेको व्यास ११ कालिका भगतवती टोल विकास संस्थाका अध्यक्ष ऋषि रानाले बताए । विकास पूर्वाधार संगै प्रचारप्रसारलाई तिब्रता दिनुपर्ने उनको भनाई छ ।

तनहुँसुरमा भएका पुराना घरहरु पनि यहाँको इतिहास झल्काउँने र पर्यटकीय सम्भावना बोकेका सम्पतिहरु भएको र यसको विकासको लागि नगरपालिका निरन्तर लागेको व्यासनगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

तनहुँसुर पुग्नको लागिसडक निर्माण लगातयका काम नगरपालिकाले अगाडी बढाउदै आएको बताए । यसको महत्वलाई उजागर गरी एक महत्वपूर्ण ऐतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गर्न नगरपालिका लागेको उनको भनाई छ ।

विकास र रोजगारीको खोजीमा अन्य स्थानमा बसाइ सरेर आर्थिक उपार्जन गरेका त्यहाँका स्थानियले उक्त क्षेत्रको बिकासमा चाँसो दिनुपर्ने दखिन्छ । यसैबिच तनहुँसुरमा पुरातत्व विभागद्धारा निर्माण सम्पन्न खड्ग कालीका मन्दिर उद्घाटन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसले तनहुँसुरको पर्यटकीय प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.