व्यास नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

तनहुँ-पारदर्शी प्रशासन र समुन्नत पालिका बनाउन नगरवासीको साथ र सहयोग अपरिहार्य रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभएको छ । आर्थिक बर्ष २०८२÷०८३ को प्रथम चौमासिकमा सम्पादित कार्यक्रम तथा विकास आयोजना, सुशासन र सेवा प्रवाहको बारेमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा शुक्रबार नगरपालिका परिसरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले नीति र विधिलाई आत्मसाथ गर्दै समृद्ध पालिका बनाउन आफूहरु लागि परेको बताउनुभयो ।

‘सुशासन कायम गरी कसरी नगरवासीलाई प्रभावकारी र पारदर्शी सेवा दिन सकिन्छ भन्नेमा हामी प्रतिवद्ध छौं,’ व्यास नगरपालिकाका प्रमुख न्यौपानेले भन्नुभयो, ‘नागरिकबाट आएका गुनासालाई तत्काल कसरी सम्बोधन गर्न सकिन्छ भनेर हामी जुटी हाल्छौं ।’ व्यास नगरपालिकाको कार्यालयले धेरै राम्रा काम गरेपनि आवश्यक प्रचारप्रसार नभएकोमा नगर प्रमुख न्यौपानेले गुनासो व्यक्त गर्नुभयो । विद्यमान सेवाप्रवाहको बारेमा नगरवासीबाट प्राप्त गुनासोलाई सम्बोधन गर्दै जाने उत्कृष्ट अभ्यास नै सार्वजनिक सुनुवाई भएको व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरैले बताउनुभयो । उपप्रमुख दरैले नगरवासीको सल्लाह र सुझाव अनुसार नै नगरपालिकाको नीति बनाउनेतर्फ आफूहरुलाई प्रेरणा मिल्ने समेत जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा १४ वटै वडाका सेवाग्राहीलाई लक्षित गरी सेवा प्रवाहको बारेमा मत सर्वेक्षण समेत गरिएको थियो ।

सर्वेक्षणको क्रममा अधिकांश सेवाग्राहीले व्यास नगरपालिकाबाट प्रवाह हुने सेवा सेवाग्राहीमैत्री हुँदै जानु सकारात्मक रहेको बताएका थिए । सार्वजनिक सुनुवाईको क्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालु आर्थिक बर्षको पहिलो चौमासिकको प्रगति विवरण सार्वजनिक गर्नुहुँदै संघीय, प्रदेश र स्थानीय तह विचको कानुनी जटिलताको कारण कर्मचारीको बारेमा समस्या सृजना भएको बताउनुभयो । व्यास नगरपालिकामा रहेका करारका कर्मचारीलाई संघीय नीति अनुसार व्यवस्थापन गर्नेतर्फ आफूहरु जुटीरहेको समेत उहाँले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरु हरिमाया विक, ईश्वर पन्थ, मदन पौडेल, कविराज श्रेष्ठ, पत्रकार शंकरराज नहर्की र सन्त नेपाली, विष्णुबहादुर अधिकारी लगायतले पारदर्शी सुशासन र जवाफदेही प्रशासन कायम गर्नु पर्ने धारणा राख्नुभएको थियो ।

पत्रकार महासंघ तनहुँका उपाध्यक्ष प्रताप रानाले संचालन गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रममा महासंघ तनहुँका कोषाध्यक्ष पूर्ण विकेले सर्वेक्षणको नतिजा सार्वजनिक गर्नुभएको थियो । यस पटकको सर्वेक्षणमा विश्वसनीयता कायम राख्न सोधिएका व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्बर, हस्ताक्षर र तस्विर समेत संलग्न गरिएको बताईएको थियो । नगरवासीको गुनासोलाई कर्मचारी र जनप्रतिनिधि समक्ष पु¥याई शुसासन कायम गर्न व्यास नगरपालिकाको कार्यालयको सहकार्यमा सार्वजनिक सुनुवाई गरिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले बताउनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.