आर्थिक वर्ष २०७९-०८० मा तनहुँमा संघ र प्रदेश अन्तर्गतका कार्यालयद्धारा १३ अर्व ८५ करोड ९१ लाख ८१ हजार ५ सय ४ रुपैयाँ खर्च गरेका छन् । संघ र प्रदेश तर्फ कुल विनियोजित १६ अर्व ७२ करोड ५८ लाख १ हजार ६ सय ४६ रुपैया बजेट रहेकोमा ८२ दशमलव ८६ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । सोमवार जिल्ला स्थित संघ प्रदेश र स्थानिय तहका सबै कार्यालयको आर्थिक वर्ष ०७९-८० मा भएको निकासा-खर्च सार्वजनिक कार्यक्रममा कार्यालय प्रमुख भट्टराईले सो कुराको जानकारी गराएका हुन् । तनहुँमा चालु आर्थिक वर्षमा २ अर्व ८६ करोड ६६ लाख २० हजार १ सय ४१ रुपैया बजेट खर्च हुन नसकेको कोलोनिका तनहुँका प्रमुख भट्टराईको भनाई छ ।

त्यस्तै आ.वं. ०७८÷०८० मा संघ सरकार अन्तर्गत पुँजीगत तर्फ तीन अर्व ३२ करोड २७ लाख ९६ हजार तीन सय ९० रुपैया बजेटमा २ अर्व १९ करोड ९ लाख ७४ हजार २०६ रुपैया बजेट खर्च भएको छ अर्थात कुल बजेटको ६५ दशमलव ९३ प्रतिशत पूजिगत बजेट खर्च भएको देखिएको छ । त्यस्तै प्रदेश अन्तर्गत पुँजीगत तर्फ २ अर्व ९४ करोड ५ लाख १५ हजार १ सय ८७ रुपैया बजेट विनियोजन भएकोमा १ अर्व ९६ करोड १२ लाख २१ हजार ९ सय ९४ खर्च भएको अर्थात ६६ दशमलव २९ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै राजश्व आम्दानी संघिय कार्यालयबाट ११ अर्व २३ करोड ५६ लाख ३३ हजार ८ सय ३६ रुपैयाँ रहेको छ भने प्रदेश अन्तर्गतको कार्यालयबाट २३ करोड ३८ लाख २ हजार ६ सय ३५ रुपैयाँ गरी कुल ११ अर्व ४६ करोड ९४ लाख ३६ हजार ४ सय ७२ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।








