तनहुँ,
राष्ट्रिय आविष्कार केन्द्र र मिलिजुली कृषि उत्पादक सहकारी संस्थाको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाको बरादीमा कृषि इनोभेटिभ केन्द्रको स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको अनुदान सहयोगमा राष्ट्रिय आविष्कार केन्द्रद्धारा सञ्चालित कृषि तथा जडिवुटी इनोभेसन तथा बजारीकरण हाताहाती विकास कार्यक्रम मार्फत मिलिजुली कृषि उत्पादक सहकारी संस्थाले उक्त काम अगाडी बढाएको हो । कृषिबाट उत्पादित खाद्य तथा फलफुल र जडिबुटीलाई केन्द्रको प्रयोगशालाबाट परिक्षण गरि विभिन्न किसिमका पेय पदार्थ, कस्मेटिक्स, हर्बल पेष्टिसाइड र मलको अनुसन्धान गरि किसानलाई व्यावसायिक रूपमा ती सामग्रीको उत्पादनका लागि तालिम दिने उद्देश्य रहेको मिलिजुली कृषि उत्पादन सहकारीका अध्यक्ष ईश्वर गौलीले जानकारी दिए ।

केन्द्रले अनुसन्धान गरि उत्पादन गरेको सामग्रीहरूको प्रदर्शनी समेत बरादीमा भइरहेको छ । राष्ट्रिय आविस्कार केन्द्र बरादी प्रोजेक्ट लीडर फुड टेक्नोलोजिष्ट प्रतिभा पराजुलीले बरादी र यस वरपरका क्षेत्र फलफुल र तरकारीको उत्पादनमा प्रख्यात रहेको र स्थानिय सामाग्रीको प्रडक्ट उत्पादन गरी निर्यात हुने बताईन् । पहिलो चरणमा सामानको मोडल बनाउने र त्यसमा लगानी गर्न चाहने स्थानिय उद्यमीलाई प्रविधि, ज्ञान, तालिम र गोप्य प्रडक्ट फर्मुला समेत आविष्कार केन्द्र मार्फत हस्तान्तरण गरी उद्यमी बन्न उत्प्रेरित गर्ने रहेको छ । आयात लाई स्थानीय उत्पादनले प्रतिष्ठापन गर्ने समेत कार्यक्रमको लक्ष्य रहेको छ । पोखरामा त्यतिकै खेर गइरहेको जल कुम्भी फोहर लाई मोहरमा बदल्न त्यसबाट मल बनाउने, बायो पेष्टिसाईड , माछा र जनावरको दाना, गोबर ग्यासको कच्चा पदार्थ बनाउने लागि अनुसन्धान गरेर मल लगायतका सामाग्री तयार गरिएको छ ।

रातो गेरु माटो, कालो माटो, कमेरो माटो र हिले माटो बाट कष्मटिक फाउन्डेसन, साबुन र स्याम्पु बनाउने तिनीहरू औषधीय हुने तनहुँ घर भई हाल क्यानडामा रहेका खाद्य तथा औषधी बैज्ञानिक नारायण घिमिरेले जानकारी दिए । अदुवा, बेसार तथा लोकल पाती, असुरो, बकाईनो जस्ता झारपातको जडीबुटी मूल्य अनुरूपको खाद्य, औषधि र कष्मटिक आदि बनाउने र खेर गएको झार पातको उच्च मूल्य सारतत्व बनाउने लक्ष्य रहेको बैज्ञानिक घिमिरे बताउछन् ।









